कैलाली, धनगढी र काभ्रे, बनेपाका केही महिला उद्यमीले सालका पातबाट बनाइने दुना, टपरी, लपेस र लाफा आदिका व्यवसायबाट मनग्ये आम्दानी गरेका समाचार सार्वजनिक भएको देखेर यो लेखन्तेलाई केही लेख्ने हुटहुटी लागेको हो । यो व्यवसायले आकर्षक आम्दानी मात्र होइन । धेरै महिलालाई रोजगारीसमेत प्रदान गरिरहेको पनि देखिएको छ । धनगढीको यस्तो एक उद्योगले त आफ्ना उत्पादित सामान विदेशमा समेत निर्यात गरेको देखिन्छ । यसबाट ग्रामीण महिलाहरूको फुर्सदको समयको सदुपयोगको मात्र भएको रहेनछ त्यसले तिनलाई रोजगारी र आयसमेत प्रदान गरेको रहेछ । स्थानीय वनजंगल र सामुदायिक वनबाट सालका पात संकलन गरी तिनले दैनिक ४–५ सयसम्मको आम्दानी र रोजगारीसमेत प्राप्त गरिरहेका रहेछन् । कतिपयले यस्तो उद्योगका लागि आवश्यक कच्चा पदार्थ सिन्का (बाँसबाट बन्ने ) का व्यवसायबाट समेत आय आर्जन गरेको देखियो । पात संकलन र बाँसको सिन्काका व्यवसायसमेतलाई यस खाले घरेलु उद्योगले टेवा पुर्याएको हुँदा दुनाटपरीको अर्थशास्त्रको डायनामिक्स नीतिगत तहमा बस्नेहरूले पनि ग्रहण गर्नपर्ने देखिएको छ ।
हेर्दा र सुन्दा यो सामान्यजस्तो लागे पनि यस किसिमका घरेलु उद्योग र व्यवसायले स्वरोजगारी मात्र होइन आयात प्रतिस्थापन गर्नेसम्मका काम पनि गर्ने हुन्छन् । उदाहरणका लागि सरकारले धेरै अगाडिदेखि नै प्लास्टिकका सामानहरूको प्रयोगलाई बन्देज गर्ने अनेकौं नीतिहरू बनाए पनि त्यसको कहिल्यै कार्यान्वयन भएन । भएन होइन, गर्ने मनसायै पनि रहेन । कुनै विकल्पविहीन अवस्थामा नीतिहरू ल्याएर मात्र हुन्न, त्यसको विकल्प पनि खोज्न सक्नुपर्छ, दिनसक्नुपर्छ । जुनसुकै सरकारहरू आए पनि प्लास्टिकका सामान हटाउने तिनका नीति होहल्लामै मात्र सीमित भएका उदाहरण छन् । प्लास्टिकका सबै सामानको प्रयोगको अन्त्यै गर्न त नसकिएला तर वानस्पतिक कच्चा पदार्थमा आधारित माथि उल्लिखित दुईओटा उदाहरणलाई हेर्दा मात्र पनि दुना, टपरी लाफा आदि उद्योगका माध्यमबाट हाल बजारमा प्रयोग भइरहेका प्लास्टिकबाट बनेका अनेकौं त्यस्तै सामानहरूको विस्थापन गर्न सकिने सम्भावना भने देखिएको छ । यसका लागि स्थानीय सरकारहरूले त्यस्ता सामानहरूको प्रयोगमा प्रोत्साहन र संरक्षण गर्ने नीति र कार्ययोजनाहरू भने ल्याउन सक्नुपर्छ ।
स्वदेशी कच्चा पदार्थमै आधारित यस खाले घरेलु उद्यमका लागि प्रोत्साहित गरेर जाने हो भने त्यस्ता वस्तुहरूको विक्रीमा देखिएको बजार मूल्यलाई कसरी हुन्छ तुलनात्मक रूपमा प्लास्टिकका सामानभन्दा सस्तो गरी विक्री वितरण गर्न सकिन्छ भन्नेपट्टि ध्यान जानुपर्ने देखिएको छ । उदाहरणका लागि एउटा सामान्य टपरीको उत्पादन लागत (उद्योगमा) करीब ४ रुपैयाँ प्रतिगोटा हुने आधारमा ती सामग्री राजधानी काठमाडौंतिर प्रतिगोटा १० रुपैयाँमा खरीद विक्री भइरहेको देखिन्छ । यो अढाइ गुणा बढी हो । यो उपभोक्ता मूल्यलाई कम गर्ने हो भने उत्तिकै मूल्यमा पाइने प्लास्टिकजन्य प्लेट (टपरी नै भनौं) जस्ता सामानको विस्थापन सजिलै गर्न सकिन्छ ।
कुनै पिकनिक, भोजभतेरतिर र रेस्टुराँहरूमा पनि अचेल पातहरूबाट बनेका टपराहरूको प्रयोग भइरहेको हुँदा त्यसलाई अझ सस्तोमा उपलब्ध हुने हो भने त्यसको प्रयोगमा व्यापकता ल्याउन पनि सकिन्छ । प्लास्टिकका सामानहरूलाई बिस्तारै विस्थापन गर्न सकिन्छ । बिस्तारै दुनाटपरीमा खाने बानी बसाल्ने हो भने त राम्रैसित कृषि पेशाको वृद्धि, वनजंगलको जोगाड र स्थानीय सरकारहरूका आयआर्जनको बलियो स्रोतसमेतको सुनिश्चितता हुने देखियो । त्यहाँ लघुवित्तीय संस्थाहरूका लागि लगानीका राम्रै सम्भावना पनि हुन सक्छ । दक्षिण भारतको बैंगलोर शहरको कुनै रेस्टुराँमा यो लेखकसित सन् २००१ मा खाना राख्ने टेबुलमै केराको पातमा खाना खाएको अनुभव ताजै छ । त्यसरी खाना खाँदा केही असजिलो त भएकै हो तर सबैले त्यसरी नै मज्जाले खाना खाएको देख्दा त्यहाँ त्यस्तै संस्कार होला भनेर चित्त बुझाइएको पनि थियो । तर, बजारतिर घुम्दा भने तरकारी बजारमा केराका पातहरू भारीका भारी बेच्न राखिएको देखेपछि पो त्यसको रहस्य थाहा भएको थियो । त्यतिबेला अनुभूत गरिएको केराको पातको अर्थशास्त्रको गतिशीलता अहिले धनगढी र बनेपाका केही महिला उद्यमीले साकार पारेको देख्दा खुशी लागेको छ ।
अध्ययन र वैदेशिक रोजगारीलगायत कारण हाल नेपालीहरूको विश्वका धेरै भूभागमा बाक्लै उपस्थिति छ । अस्ट्रेलिया, अमेरिका र बेलायततिर त नेपालीहरूको स्थायी बसोवास पनि बाक्लै देखिएको छ । त्यहाँ नेपालीहरूले गर्ने धार्मिक संस्कार तथा चाडबाडहरूमा यस खाले सामानहरूको उपयोगको माग हुनु स्वाभाविकै हो । धनगढीकी एक महिला उद्यमीले त्यतातिर दुनाटपरी निर्यात गरेर यस्ता वस्तु पनि निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने सम्भावनाका सन्देश पनि दिएकी छन् । देशका लागि यो सानै स्तरको भए पनि गर्व गर्नुपर्ने विषय हो । यति मात्र होइन, अनेकौं कारणले अहिले विदेशमा बस्ने नेपालीहरूको संख्या करीव साठी लाखको आकारमा छ भनिँदै छ । तिनलाई सम्भावनाको आर्को क्षेत्र ठान्ने हो भने तिनका लागि आवश्यक अन्य उपभोग्य सामानहरू ती देशहरूमा निर्यात गर्नसकिने बलियो सम्भावना पनि छ । के सरकार वा सम्बद्ध निकाय यतापट्टि लाग्न सक्ला ?
दुना, टपरी बोहोता, जनै, सुपारी, धूपबत्ती, टीकारंग, हवन सामग्री आदि हाम्रो धार्मिक कार्यमा नभई नहुने सामान हुन् । दुनाटपरी आदि भने भरसक ताजारूपमै प्रयोग गर्ने चलन भए तापनि अचेल माथि उल्लिखित उद्योगहरूबाट उत्पादित सामानलाई पनि उत्तिकै रूपमा प्रयोगमा ल्याउन थालेको देखिन्छ । खासगरेर बिहेबटुलो, धार्मिक कार्य, श्राद्ध तर्पण र पूजाआजाका लागि पात आदिबाट बन्ने दुना, टपरी, बोहोता अनिवार्य मानिन्छन् । ती वस्तुलाई व्यवसायीकरण गरेर लैजान सक्ने हो भने रोजगारी त हुने नै भयो ग्रामीण क्षेत्रमा त्यसले आय आर्जनसमेत गर्ने बलियो सम्भावना पनि देखिएको छ । कुनै खास खास भूगोलमा मात्र हुने साल अचेल दुर्लभ हुन थालेको छ । यसैले सालको खेती र संरक्षणमा समेत सरोकारवालाहरूको ध्यान जानुपर्ने देखिन्छ ।
किनभने अचेल बस्ती विस्तारका कारण प्राय: तराईमा हुने यस किसिमको वनस्पति मासिन थालेको देखिन्छ । कताकतै वन उपभोक्ता समूहहरूले बचाएर राखेका सालका रूखहरूबाट यस किसिमको पात संकलन हुने भएकाले यसको उपलब्धता सीमित क्षेत्रहरूमा मात्र देखिएको छ । अब सालको पातमा आधारित यस खाले उद्योग व्यवसायहरूलाई प्रश्रय र संरक्षण प्रदान गर्न पछि पर्नु हुँदैन भने दुर्लभ हुन थालेको सालका रूखहरूलाई खेती र संरक्षणका माध्यमले समेत प्रोत्साहित गरेर लानुपर्ने देखिएको छ । दुना, टपरीको अर्थशास्त्रको यो सानो गतिशीलतालाई बुझ्न सके मात्र पनि स्वदेशी उद्यम धन्दाको वृद्धि हुनेछ ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।