नवराज शिवाकोटी
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–९, लाकुरीडाँडामा प्रस्तावित अन्तरराष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । सिमेका विम जेभीले रू. १ करोडको लागतमा डीपीआर तयार गरेको हो ।
लाकुरीडाँडाको ३४ सय मिटरको उचाइमा अवस्थित डाङडुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्म सिटी बनाउन प्रस्ताव गरिएको हो । चलचित्र विकास बोर्डले डीपीआर तयार गर्न लगाएको थियो । पहिलो चरणमा करीब ५ अर्ब खर्चमा फिल्म सिटी सञ्चालन नै गर्न सकिने कम्पनीका आर्किटेक्ट आभूषण पन्तले बताए । फिल्मको चाप र संख्याअनुसार संरचना थप्दै जाने हो भने अन्तिमसम्म करीब १५ अर्ब खर्च लाग्ने डीपीआरमा उल्लेख छ ।
बोर्डका अध्यक्ष केशव भट्टराईसहित सरकारी कर्मचारी तथा फिल्म सिटीका अभियन्ता सम्मिलित कार्यक्रममा शुक्रवार डीपीआर प्रस्तुत गरिएको थियो । दोलखा फिल्म सिटीका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सरकारको दायित्व र स्वामित्व रहेकोले तत्काल फिल्म सिटीका लागि यथाशक्य बजेट विनियोजन गर्न आग्रह गरे ।
डीपीआरमा फिल्म सिटीमा बसोबास सहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रडक्सन युनिट, गेष्ट हाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करीब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरिने उल्लेख छ । यसैगरी पाँचतारे होटल, ट्रेनिङ सेन्टर र आउटडोर सुटिङको लागि त्यहाँ उपलब्ध प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकिने बताइएको छ ।
सरकारले रू. १२ करोड ४५ लाखमा फिल्म सिटी क्षेत्रमा दुई लेनको सडक, फुट ट्रेल, नाला सहितको पूर्वाधार निर्माण गरिसकेको छ भने १ करोडको लागतमा पानी तथा बिजुलीको समेत व्यवस्था गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तथा टेक्निकल फिजिबिलिटी स्टडी (टीएफएस) र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सहित सरकारले दोलखा फिल्म सिटीमा कुल रू. १७ करोड ४५ लाखभन्दा बढी खर्च गरिसकेको बोर्डको भनाइ छ ।
तत्कालीन सरकारका सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले २०७४ फागुन ३ गते शिलान्यास गरेको फिल्म सिटी क्षेत्र ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको थियो ।
राजधानी काठमाडौंबाट करीब १०९ किलोमिटर पूर्वमा रहेको डाङडुङेडाँडाबाट रोलवालिङ तथा जुगल हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
दोलखा फिल्म सिटी विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको दाबी समेत गरिँदै आएको छ । सेती देवीदादर सामुदायिक वनले फिल्मसिटीका लागि आवश्यक जग्गाको भोगाधिकार समेत उपलब्ध गराइसकेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.