नरहरि पौड्याल
कास्की । डेढ वर्षअघि निर्माण शुरू भएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको हालसम्म करीब ४५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका प्रमुख विनेस मुनाकर्मीले प्रमुख धावनमार्ग र ट्याक्सी वे निर्माण हुनुका साथै टर्मिनल भवनको फाउण्डेसनको काम पनि सकिएको जानकारी दिए ।
उनका अनुसार विमानस्थलका अन्य भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ । रिजिट कंक्रिट पेभमेन्टको प्रणालीमा धावनमार्ग तीन तहमा निर्माण भएको मुनाकर्मीले बताए । अन्य विमानस्थलमा धावनमार्गमा कालोपत्र गर्ने गरिए पनि यहाँ ढलान गरिएको हो । धावनमार्गको लम्बाइ २ हजार ५ सय मिटर रहेको छ ।
हाल विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा (बानियाँ पाखा) कटान शुरू गरिएको छ । विमानस्थल सञ्चालनका लागि उक्त डाँडाले अवरोध पुर्याउने भनी पछिल्लो समयमा हल्ला चलेपछि आशंका मेटाउन परियोजनाले हवाई मार्गमा पर्ने डाँडाको कटान शुरू गरेको हो । राष्ट्रिय गौरवको योजनालाई सफल पार्न स्थानीयवासीले आफै डोजर लगाएर डाँडा कटान थालेका छन् ।
अहिले विमास्थल निर्माण कार्यमा दैनिक ४५० जना कामदार खटिएका छन् । २०७८ असारसम्म निर्माण सकिसक्ने लक्ष्य भए पनि २०७७ पुसमै विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सीएएमसीले २०७४ देखि थालेको थियो । चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको विनाब्याजको ऋण रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.