वीरगञ्ज । वीरगञ्जमा एशियाली विकास बैंक (एडीबी)को मुख्य लगानीमा ढल तथा नाला निर्माण परियोजना लागू भएपछि यो शहरले वर्षौंदेखि भोग्दै आएको डुबानको समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर, ३ अर्ब रुपैयाँ खर्चिएर यो परियोजना पूरा भए पनि वर्षाको पानीले निकास पाएन । वर्षाका कारण शनिवार दिनभरि मुख्य बजार आदर्शनगरसहित वीरगञ्जका अधिकांश स्थान डुबानमा परे ।
मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना (एसटीआईयूईआईपी) अन्तर्गत ढल र नाला निर्माण भएका क्षेत्रमै डुबानको समस्या अधिक देखियो । वीरगञ्जको आदर्शनगर, रानीघाट, श्रीपुरलगायतका स्थानमा वर्षात्को पानी जमेर आवगमन अवरुद्धमात्र भएन, बजारक्षेत्रमा पानी पसेर व्यापारिक स्थलमा व्यापक क्षति पुगेको व्यवसायी दीपक सर्राफले बताए ।
सबैभन्दा बढी डुबान आदर्शनगरमा देखियो । विगतका वर्षमा यो बजार डुबानमा परे पनि आवागमनमा रोक लगाइएको थिएन । यसपटक भने डोरी लगाएर आवागमन नै रोकिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले डुबान क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आवागमन रोक्नु परेको बताए ।
स्थानीय घण्टाघरबाट जिल्ला प्रशासनतर्फ जाने सडकमा समेत प्रवेशमा रोक लगाइएको थियो । वीरगञ्जको लोहारपट्टीचोक, पूजन होटल चोक, भाजुरत्न चोकलगायतका स्थाबाट बढी जलमग्न भएको मुख्य बजारमा आउजाउ रोकिएको थियो । स्थानीय प्रशासनले दिउँसो विद्युत् आपूर्तिसमेत बन्द गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । एसटीआईयूईआईपीले निर्माण गरेको ढल र नालाको गलत डिजाइनका कारण आदर्शनगरको पानीको निकास हुन नसकेको आरोप स्थानीयले लगाएका छन् । गलत डिजाइनका कारण योजना पूरा भएपछि पनि पानीको निकास झन् अवरुद्ध हुन पुगेको भन्दै स्थानीय व्यवसायी एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकरियाले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
उत्तरबाट दक्षिणतर्फको पानीको स्वाभाविक बहावलाई उत्तरतिर फर्काएर सिरसिया खोलामा झारिएकाले आदर्शनगर जलमग्न भएको स्थानीय राजेश क्यालले बताए । बहावलाई उल्टो दिशाातर्फ लैजादा ढलको सतह सामान्यभन्दा तल गएको र नदीको बहाव बढी हुनेबित्तिकै पानीको निकास अवरुद्ध भएर शहर जलमग्न हुने उनको भनाइ छ ।
अहिले पनि ढलको पूर्ववत् डिजाइनअनुसार दक्षिणतर्फ बहाव मिल्ने गरी निकास मिलाउने हो भने डुबानको समस्या समाधान हुनसक्ने जानकारहरू बताउँछन् । अघिल्लो डिजाइनअन्तर्गत निर्माणस्थलमा केही निजी घर परेकाले योजनाले डिजाइन परिवर्तन गरी दक्षिणतिर बग्नुपर्ने नालालाई उत्तरतिर फर्काएर सिरसिया खोलामा झारेको थियो ।
वीरगञ्ज महानगरका प्राविधिकहरू भने वर्षात्को बेला शहरमा डुबानको समस्यालाई सामान्य बताउँछन् । वर्षात्मा सबैतिर डुबान हुने भएकाले वीरगञ्जको समस्यालाई सामान्यरूपमा लिनुपर्ने उनीहरूको तर्क छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले पर्सामा शनिवार ४४१ घरमा बाढी पसेर क्षति पु¥याएको जानकारी दिएको छ । पर्साका नगर तथा ग्रामीण क्षेत्रमा विभिन्न ३४ स्थानमा बाढी पसेको क्षति पुर्याएको विवरण प्रशासनले सार्वजनिक गरेको छ ।
मृतक परिवारलाई प्रदेश–२ सरकारको ३ लाख राहत
वीरगञ्ज (अस) । प्रदेश नम्बर २ सरकारले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । शनिवार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप सो रकम दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले आठै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १० लाख रुपैयाँका दरले रकम निकासा गराउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । प्रदेश सरकारले बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय भएर खटिन सुरक्षाकर्मी एवम् सर्वसाधारणलाई आह्वानसमेत गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.