वीरेन्द्र भट्ट
असार २५, धनगढी । सुदूरपश्चिम प्रदेशभित्र कृषिजन्य वस्तुको व्यावसायिक उत्पादनका लागि चिनियाँ कम्पनीले लगानी गर्ने इच्छा देखाएको छ । यस क्षेत्रमा कृषिजन्य वस्तु उत्पादनको सम्भाव्यता अध्ययन गर्न चिनियाँ ३ सदस्यीय टोली धनगढी आइपुगेको छ ।
चीनको सिचुआन प्रान्तको सेजुविङ होल्डिङ ग्रुप कोअपरेटिभ्स लिमिटेड तयार रहेको ग्रुपका अध्यक्ष लुयोन फीले लगानीयोग्य वातावरण बनाइदिए यो क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । प्रदेशभित्रका नौ जिल्लाको व्यावसायिक कृषि उत्पादन सम्भाव्यता अध्ययन गरेर नेपाल सरकार तथा कृषि उद्यमीहरुको सोच र आवश्यकताको आधारमा आफ्नो कम्पनी लगानी गर्न तयार हुने उनले बताए । चीनस्थित नेपाली राजदूतावासको समन्वयनमा कृषि क्षेत्रको अध्ययनका लागि मंगलवार धनगढी आइपुगेको चिनियाँ टोली केही समय यही बसेर कृषिका विविध क्षेत्रको अध्ययन गर्ने बताइएको छ ।
जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष फीले चीनसहित भियतनाम र कम्बोडिया गरी तीनओटा मुलुकमा दाना, मल, बीउलगायत कृषि उत्पादनमा आफ्नो कम्पनीले लगानी गरेको जानकारी गराए । संघ तथा प्रदेश सरकारले कृषि क्षेत्रको व्यावसायीक उत्पादनका लागि नयाँ–नयाँ प्रविधि र वाह्य लगानी भित्र्याउने गरी आवश्यक वातावरण सृजना गरिदिएको खण्डमा आफ्नो कम्पनीले सम्भावित क्षेत्रमा लगानी गर्न सक्ने ग्रुपका अध्यक्ष फीले बताए ।
टोलीले विभिन्न कृषिसँग सरोकार राख्ने संघसंस्था तथा कृषक अगुवाहरुसँग भेटघाट तथा छलफल गरेको छ । प्रदेशका सांसदहरुसँग छलफल गरेको चिनियाँ टोलीले कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुसँग पनि अन्तरक्रिया गरेको छ । अध्यक्ष फीले आफूहरु केही समय यो प्रदेशभित्र कृषिको सम्भाव्यता र भौगोलिक सम्भाव्यताको विषयमा अध्ययन गरेर सोहीअनुरुप लगानीका लागि तयार हुने बताए ।
थोरै जमिनमा कृषि उत्पादन, भण्डारण तथा बजारीकरणदेखि दाना उत्पादनसम्म गर्दै आएको आफ्नो कम्पनीले सोका लागि आवश्यक वातावरण यो प्रदेशमा बन्न सके आवश्यक लगानी गर्न आफ्नो कम्पनी सधै तत्पर रहने अध्यक्ष फीले बताएका छन् ।