काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले एक वर्षमा १२ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेका छन् । वित्तीय वर्ष २०२१ मा ८ अर्ब २९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बोटलर्स नेपालको नाफा सन् २०२२ मा ५१ प्रतिशतले बढेको हो ।
रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले चार वर्षमा ३७ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ, जसमध्ये ६९ दशमलव ५३ प्रतिशत नाफा कम्पनीको सहायक कम्पनी बोटलर्स नेपाल (तराई)को हो । ईक्राका अनुसार बोटलर्स नेपाल (तराई)ले चार वर्षमा २६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा रहेको बोटलर्स नेपालको सन् २०२२ मा बजार हिस्सा ६१ प्रतिशत पुगेको बताइएको छ । कोभिडपछि बोटलर्स नेपाल (तराई) लिमिटेडको बढ्दो निर्यातका साथै २५० भन्दा बढी डिलरशिपबाट विक्री भएसँगै कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ ।
बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डमा कार्बोनेटेड नन–अल्कोहोलिक बेभरेजको विक्री वितरण गर्दै आएको छ । बोटलर्स नेपालको ३ अर्ब ३७ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ईक्राले एवान प्लस रेटिङ दिएको छ । बोटलर्स नेपालको ३ अर्ब रुपैयाँको कर्जामा २ अर्ब ७० करोड रुपैयाँ कर्जा बोटलर्स नेपाल (तराई)को छ ।
बोटलर्स नेपालको ७६ प्रतिशत शेयर कोकाकोला साउथवेस्ट एशिया होल्डिङ्स लिमिटेड, २२ प्रतिशत शेयर स्थानीय साझेदारको रूपमा रहेको गोर्खा ब्रुअरी प्रालि र बाँकी शेयर सर्वसाधारण शेयरधनीहरूको छ । यस्तै बोटलर्स नेपाल (तराई)मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत शेयर स्वामित्व छ भने बाँकी हिस्सा सर्वसाधारणको रहेको बताइएको छ ।