काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनओटा म्युचुअल फण्डले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । एनआईबिएल प्रगति फण्ड, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार तीनओटै फण्डको न्याभ असोज महीनाको तुलनामा कात्तिक महीनामा बढेको हो ।
एनआईबिएल समृद्धि फण्ड–२ को न्याभ असोज मसान्तसम्म रू. ८ दशमलव ३३ रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ८ दशमलव ४४ पुगेको छ । त्यसैगरी एनआईबिएल सहभागिता फण्डको न्याभ कात्तिक मसान्तसम्ममा रू. ९ दशमलव ८६ रहेकोमा कात्तिक मसान्तसम्म बढेर रू. ९ दशमलव ९६ पुगेको छ ।
त्यस्तै एनआईबिएल प्रगति फण्डको न्याभ कात्तिक मसान्तसम्म रू. ९ दशमलव ८३ पुगेको छ । यस फण्डको न्याभ असोज मसान्तसम्म रू. ९ दशमलव ६४ थियो । यो फण्ड कात्तिक मसान्तसम्म रू. १ करोड ३२ लाख नोक्सानीमा रहेको छ । असोज महीनामा पनि फण्ड रू. २ करोड ७५ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी केही घटेको छ ।
कात्तिक महीनामा फण्डको खर्चमा वृद्धि र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा पुगेकको हो । असोज मसान्तसम्म फण्डको जम्मा खर्च रू. ३६ लाख ८४ हजार रहेकोमा कात्तिक मसान्तसम्म बढेर रू. ४८ लाख ३२ हजार पुगेको छ ।
त्यसैगरी एनआईबिएल सहभागिता फण्ड कात्तिक मसान्तसम्म रू. ३२ लाख ४७ हजार नोक्सानीमा रहेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड-२ पनि कात्तिक मसान्तसम्म रू. १ करोड ७८ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । कात्तिक महीनामा यी फण्डहरू नोक्सानीमा जानुको कारण खर्चमा वृद्धि भएकाले जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन् ।
एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्तसम्म सूचीकृत शेयरमा रू. ६५ करोड ३ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तसम्म रू. ६३ करोड ८९ लाख थियो । त्यस्तै एनआईबिएल सहभागिता फण्डको सूचीकृत शेयरमा लगानी असोज महीनाको तुलनाम कात्तिक महीनामा ४७ प्रतिशत वृद्धि भएको छ ।
फण्डले असोज मसान्तसम्म सूचीकृत शेयरमा रू. २४ करोड २७ लाख लगानी गरेकोमा कात्तिक मसान्त बढेर रू. ३५ करोड ९२ लाख पुगेको छ । त्यसैगरी एनआईबिएल प्रगति फण्डले कात्तिक मसान्तसम्म सूचीकृत शेयरमा रू. ४६ करोड ९६ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तसम्म रू. ४५ करोड ७४ लाख थियो ।