काठमाडौं । एनआईबिएल प्रगति फण्ड परिपक्व भएसँगै खारेजी प्रक्रिया अघि बढाएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजना गत पुस २६ गते परिपक्व भएको हो । नेपाल धितोपत्र बोर्डबाट फागुन ६ गते प्राप्त निर्देशनबमोजिम योजना खारेजी प्रक्रियामा लगिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।
सामूहिक लगानीकोष नियमावली, २०६७ को नियम ३२ को उपनियम (३) को व्यवस्थाबमोजिम योजनाको नाममा रहेको लगानीलाई तीन महीनाभित्र नगदमा परिणत गरी इकाईधनीलाई उनीहरूको स्वामित्वको अनुपातमा फिर्ता गर्नुपर्ने हुन्छ । यसैका लागि योजनाले आफ्नो स्वामित्वमा रहेका सूचीकरण हुन बाँकी बोनस तथा हकप्रद शेयर लिलामी फ्रक्रियाबाट विक्री गर्न लागेको हो ।
चैत १९ गतेदेखि योजनाको स्वामित्वमा रहको रिडी पावरको ६ हजार ५८९ कित्ता हकप्रद शेयर, माउन्टेन ईनर्जीको १ हजार ४१० कित्ता बोनस शेयर, समाज लघुवित्तको २२ कित्ता बोनस शेयर, हिमालयन रिइन्स्योरेन्सको ४२८ कित्ता बोनस शेयर र डिप्रोक्स लघुवित्तको २ हजार ९२९ कित्ता बोनस शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।
यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ । सो नभएमा आवेदन स्वतः रद्द हुने भनाई योजना व्यवस्थापकको छ । यी शेयर खरीदका लागि चैत २७ गते अपराह्न ३ बजेभित्र एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा दर्ता भइसक्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २८ गते बिहान ११ बजे खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।