काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको बाराको परवानीपुर शाखामा तोडफोड भएको छ । गत मंगलवार दिउँसो १ः१० बजे २०–३० जनाको समूहले शाखा कार्यालयमा तोडफोड गरेको र कम्पनीका कर्मचारीमाथिसमेत अभद्र व्यवहार गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘शाखामा कार्यरत कर्मचारीहरूलाई डर, धम्की तथा त्रास पैदा गर्दै शाखा प्रमुख तथा कर्मचारीहरूमाथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहारसमेत गरेको तथा कार्यालय प्रयोजनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी सामग्रीहरू तोडफोड गरेको, कार्यालयको दराजमा रहेको सदस्यहरूको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरू, सदस्यहरूका व्यक्तिगत फाइलहरू, दैनिक वित्तीय कारोवारमा भौचरहरू तथा नगदी रसिदहरू र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट गर्ने जस्ता अत्यन्त निन्दनीय, गैर कानूनी तथा अभद्र कार्यहरू गरेको साथै शाखा कार्यालयमा तालासमेत लगाई अराजक र असभ्य क्रियाकलापहरू गरेको घटनाको संस्था घोर भर्त्सना गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । ‘नेपाल सरकारको अति आवश्यकीय क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरूमाथि भएको भौतिक आक्रमण गरेको उल्लेख गर्दै विज्ञप्तिमा वित्तीय संस्थाको सम्पत्तिमा पर्न गएको क्षति तथा जोखिममा संलग्न सम्बन्धित समूह तथा व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।