काठमाडौं। खुकुरि रमको उत्पादक कम्पनी नेपाल डिस्टिलरीज (एनडीपीएल)ले कास्क सिरिज रमको पहिलो संस्करण सार्वजनिक गरेको छ । यो रम ५ हजार २०० बोतल मात्र उत्पादन भएको कम्पनीले जानकारी दिएको छ । उक्त परिमाणमध्ये १ हजार ६ सय बोतल नेपाली बजार र बाँकी अन्तरराष्ट्रिय बजारमा पठाइने बताइएको छ । यो प्रिमियम रम नेपाली बजारमा १० हजार रुपैयाँमा निश्चित ग्राहकलाई मात्र निजी च्यानलमार्फत विक्री गरिने बताइएको छ ।
कास्क रम हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसबाट बनाएको बताइएको छ । खुकुरी रम उत्पादन गर्दै आएको दशकभन्दा लामो कास्क शृंखलाले अतुलनीय विशेषज्ञता थप्ने कम्पनीको अपेक्षा छ । ‘रम परिपक्व हुन आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कृष्णनले भने ।