काठमाडौं। नेपालकै पहिलो केबलकार मनकामना केबलकारले सेवा शुरू गरेको २६ वर्ष पूरा भएको छ । केबलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना प्रमुख गन्तव्यका रूपमा स्थापित भएको छ । यो अवधिमा कम्पनीले एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पाटर््स समेत पाउन कठिनाइ हुने स्थितिलाई ध्यानमा राखी प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको जानकारी दिइएको छ ।
मनकामना केबलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने बताइएको छ । केबलकारले हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको बताएको छ । कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गका स्थानीयलाई सहयोग गर्दै आएको जानकारी दिएको छ । केबलकार टिकटबाट आम्दानीकोे १/१ प्रतिशतका दरले २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनको विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गर्दै आएको कम्पनीले बताएको छ ।