काठमाडौं। ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका ५१ ओटा स्वास्थ्य संस्थामा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएको ज्योति विकास बैंकलाई डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रले सम्मान गरेको छ । एक कार्यक्रमका बीच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सम्मान–पत्र प्रदान गरेका हुन् ।
बैंकले विगत ४ वर्षदेखि ‘न्यानो नानी’ परियोजनामार्फत आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी–बेबी वार्मर मेसिन विभिन्न अस्पताललाई सहयोग गर्दै आएको बताइएको छ । दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई ध्यानमा राखेर उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण उपकरण स्वास्थ्य संस्थामा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता दिने बताएको छ । बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलमार्फत प्रदान गरिएका ५१ ओटा बेबी वार्मर उपकरणहरूले हरेक वर्ष करीब १ हजार ८८७ भन्दा बढी शिशुको जीवन रक्षा गर्न सफल भएको बैंकको भनाइ छ ।