काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको कात्तिक मसान्तसम्म प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९४ पैसा रहेको छ । असोज मसान्तसम्म १० रुपैयाँ ४ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिकमा भने घटेको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । यो योजना २०८३ भदौ १२ गते परिपक्क हुनेछ ।
कात्तिक मसान्तसम्मको वित्तीय विवरणअनुसार योजना ११ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । असोज मसान्तसम्म योजनाको खुद नोक्सानी रकम १० करोड ४ लाख रुपैयाँभन्दा बढी थियो । असोजको तुलनामा कात्तिकमा योजनाको खुद नोक्सानी बढेको हो ।
योजनाको प्राप्त हुन बाँकी आम्दानीहरू प्राप्त भइनसकेकाले खुद नोक्सानी बढेको देखिन्छ । असोज मसान्तसम्म ९ करोड ३४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी ऋणात्मक देखिएकोमा कात्तिक मसान्तसम्म यो रकम १० करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको हो ।
कात्तिक मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब २३ करोड ५६ लाख रुपैयाँभन्दा बढी छ । यो लगानीको बजार मूल्य भने १ अर्ब ९ करोड ७१ लाख रुपैयाँभन्दा बढी मात्र छ । योजनाले बैक मुद्दती निक्षेपमा ११ करोड रुपैयाँ लगानी गरेको छ ।