काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीलाई चारओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार शैक्षिक सामग्रीको वितरण शुरू गरेको छ । यसै कार्यक्रमअन्तर्गत मंगलवार लुम्बिनी प्रदेशका तीन विद्यालयमा ४४६ ओटा शैक्षिक सामग्री वितरण गरिएको हो । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले यो घोषणा गरेको थियो । यसले विद्यार्थीमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने उद्देश्य राखेको बताइएको छ ।
मंगलवार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले संयुक्त रूपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
कपिलवस्तु नगरपालिका–१० को राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरूल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्यसैगरी एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले दाङको राप्ती सोनारी गाँउपालिका–४ मा रहेको बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीलाई १८६ थान शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।
‘गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीलाई शिक्षामा मद्दत गर्ने हाम्रो विश्वास छ, यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्नेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने । विद्यार्थीले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेशनरी सामान समावेश छन् । यस पहलअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २ हजार ६१२ शैक्षिक सामग्री वितरण गर्नेछ ।