काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ ।
एनसेल फाउन्डेसनले गत सोमवार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच ओटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करीब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो । ‘संकटको समयमा समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं,’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितहरूलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुनःस्थापनामा काम गर्नुपर्ने छ ।’
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायत सामान छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।
गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।