काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ ।
कम्पनीले आईपीको खरीदका लागि २०७९ माघ २७ गतेदेखि फागुन २ गतेसम्मका लागि विक्री खुला गरेकोमा फागुन १ गते सार्वजनिक बिदा दिइएकाले यस कम्पनीको साधारण शेयरको विक्री अवधि एक दिन अर्थात् फागुन ३ गते (बैंकिङ समयसम्म) थप गरेको छ । कम्पनीको आईपीओमा भने पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेको छ ।
कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण गरिसकिएको छ ।
त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनी कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीको भनाइ छ ।
बाँकी ६ लाख ९७ हजार २०० कित्ता शेयर कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ ।
हाल कम्पनीमा संस्थापकतर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ ।