काठमाडौं। भुक्तानी सेवा प्रदायक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौतापश्चात् सिटी एक्सप्रेसका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने बताइएको छ । आइतवार काठमाडौंमा भएको सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेसका निर्देशक कृष्णराज पौडेलले हस्ताक्षर गरेका छन् ।
विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको एससीटीले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष शुरू गरेको बताइएको छ ।