समीक्षक नरेशशङ्कर पालिखे
नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालयमा कार्यरत तथा मासिक साहित्यिक प्रकाशन ‘शब्द संयोजन’का प्रधानसम्पादक/प्रकाशक वासुदेव अधिकारीद्वारा लिखित कविता सङ्ग्रह ‘गायब सभामुख’ ले समसामयिक नेपाली राजनीतिप्रति तीखो व्यङ्ग्य गरेको छ । कृतिमा रचनाकारले २०६४ सालमा भएको संविधानसभाकोे निर्वाचनपछिको ४ वर्षको अवधिमा अर्बाैं रुपैयाँ खर्च हुँदा पनि संविधान बन्न नसकेको अवस्थामा आमनेपालीको मानसिकता चित्रण गरेका छन् । फाइन प्रिण्टले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा नेपाली जनताको भाग्य कोर्ने भनी विश्लेषण गरिएको संविधानसभा संविधान नै नबनाई अवसान हुँदाको तीतो यथार्थलाई मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
आफू घाँस दाउरामा जान
आफू पानी पँधेरामा रमाउन
खनजोत वा व्यवसायमा अल्मलिन
सांसद बनाएका हौँ तिमीलाई
गतिलो संविधान लेख्न
अखण्ड राष्ट्रको गीत गाउन
तिमीले गायौ त्यसरी नै
(संविधान लेखकसँग)
प्रथम संविधानसभा जीवित हुँदा सभासद्हरूको अकर्मण्यता र देशभन्दा दलको एजेण्डातर्फ बढी झुकाव रहेको हामीले नेपाली जनताले महसूस गरेकै हौं । सम्प्रभु मानिएको संविधानसभाभन्दा होटल र रिसोर्टको बन्द कोठाभित्र बसेको केही नेताको बैठक बलियो एवम् निर्णायक भएको विडम्बना हामीले भोग्नुपर्यो । संविधानसभाका जननिर्वाचित सदस्यहरू भेडा र गोठालाका रूपमा परिणत भए, जसलाई केही नेताहरूले लतारे, घिसारे र पछारे र संविधानसभा निर्णय विहीन भयो, सभासद्हरू विवश र लाचार भए । प्रमुख दलका नेताहरूले संविधानसभाको महत्वलाई गौण बनाए । यी कटु यथार्थलाई कविले यसरी प्रस्तुत गरेका छन् –
लेख्नुको पारिश्रमिक भन्दा
नलेख्नुको नजराना बढी
लेख्नुको आनन्द भन्दा
नलेख्नुको स्याबासी बढी
विधान बनाएर किन मिचिने आफैँ ?
को हो तोक्ने हामीलाई समय सीमा ?
संविधान बनाउने समय नै पोलिदियौँ हामीले
अक्कलको आगोले
जुक्तिको जादुले !
(भष्मासुर उवाच)
संविधानसभा अवसान हुने दिनमा सभामुख गायब भएर संविधानसभा नै बोलाएनन् । उनले आँटेर संविधानसभा बोलाएको भए सायद संविधानसभा भङ्ग हुँदैनथ्यो कि भन्ने विश्लेषण आज पनि भइरहेकै छ । संविधानसभाको हाताभित्र केही सभासद्हरु संविधानसभा भङ्ग गर्न पाइँदैन भनी नारा जुलुस गरिरहँदा आफ्नो गरिमामय अभिभारा विर्सेर सभामुखले नेताहरूको मुख ताक्दै उनीहरूको आदेश पालना गर्दै बसे, अक्षम्य र ऐतिहासिक गल्ती गरे ।
तसर्थ कविले लेखे –
भ्रुण तुहिने बेला
एकाएक अलप भयौ तिमी
एकाएक अन्तर्ध्यान भयौ तिमी
कहाँ गायब तिमी ?
कहाँ अलप तिमी ?
समादरणीय सभामुख !
कि गोरु ब्याउने आशमा
विकृत नेताको छुद्र मायाजालको फन्दामा तिमी ?
हामी बिर्सिनै सक्दैनौँ
उन्मादको ढुंगा बर्सिएर भएको
यो शिशुको भ्रुण हत्या
र अकस्मात निभेको तिम्रो दियो
(गायब सभामुख)