काठमाडौं । मङ्सिर १० गतेदेखि विक्रीमा आएको घलेम्दी हाइड्रो कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १६ गतेसम्मका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ ।
२०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो ।