काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले मङ्सिर १० गतेदेखि विक्रीमा ल्याएको २०० प्रतिशत हकप्रद शेयर पुस १६ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले पुस १ गतेसम्म विक्री मिति तय गरेकोमा अवधि थप गरी पुस १६ गतेसम्म कायम गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
मङ्सिर ३० गतेसम्म कम्पनीको हकप्रद शेयर खरीदका लागि २२ हजार ९१० कित्ता शेयर माग भएको छ । यी आवेदकहरूबाट ४६ लाख १७ हजार ६३२ कित्ता शेयर खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ ।
२०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो ।