काठमाडौं । शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, यसबाट पैसा कमाउन सोचेजति सजिलो भने छैन ।
शेयर बजार यस्तो क्षेत्र हो, जहाँ कतिले कमाउँछन्, कतिले गुमाउँछन् । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ?
सबैभन्दा पहिले आफ्नो लगानीको जिम्मेवारी कसरी वहन गर्ने भन्ने यकिन गर्नुपर्दछ । किनकी शेयर बजारलाई कहिले राजनीतिदेखि नीतिगतसम्मका कुराले प्रभाव पारिरहेको हुन्छ ।
अझ भनौं यी तत्वहरूले नै शेयर बजारलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गर्दछन् । यस्तो अवस्थामा आफूले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नुपर्छ ।
घाटाको दोष अरु कसैलाई लगायौं भने कहिल्यै सफल लगानीकर्ता बन्न सकिँदैन । शेयर बजारमा सफल लगानीकर्ता बन्नका लागि आफूले निश्चित नियम बनाउने गर्नुपर्दछ, जस्तै ः लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल लिने ? अल्पकालीन लगानी गर्ने कि दीर्घकालीन ? यसबारे सर्वप्रथम यकिन हुनुपर्छ । त्यसपछि बजार घटेमा वा बढेमा जोखिम, प्रतिफल र स्टपलसबारे स्पष्ट हुनु जरुरी छ ।
कसैको हल्ला, लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्नुहुँदैन । आफूले बनाएको योजनालाई अनुशासित रूपमा कार्यान्वयन गरेमा शेयर बजार घट्दा होस् वा बढ्दा, बजारबाट सफल बन्न सकिन्छ ।
त्यसपछि आफूले योजनाबद्ध रूपमा गरेको लगानी कतिको सफल भएको छ वा छैन भनेर निरन्तर गहन अध्ययन गर्नुपर्दछ ।
शेयर बजारमा सफल हुनका लागि शेयर बजारका बादशाह भनिने वारेन बफेटका टिप्स पनि फलो गर्न सकिन्छ । बफेटको लगानी टिप्स धेरै प्रसिद्ध छन् । विश्व शेयर बजारमा थुप्रै लगानीकर्ताले उनका टिप्स फलो गर्छन् ।
पछिल्लो समय धेरैजसो नेपाली लगानीकर्ता शेयर बजार बढेपछि मात्र खरीद गर्न थाल्छन् भने घट्दै गर्दा आत्तिएर विक्री गर्ने प्रवृत्ति देखिन्छ । यसकारण कसरी, कस्तो समयमा शेयर खरीद विक्री गर्ने, कस्ता कम्पनीको शेयर खरीद गर्ने जस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
पछिल्लो समय राम्रोसँग नबुझेर अरुको हल्लामा लगानी गर्दा धेरै जनाले घाटामा गएको गुनासो गर्ने गर्दछन् । हेरौं वारेन बफेटका यी टिप्स ?
१) सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु
लगानीसम्बन्धी बफेटको एउटा भनाइ एकदमै चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन् त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ ।’ यो भनाइको आशय बजारको हल्लाको पछि नलाग्नु भन्ने हो ।
बफेटका अनुसार हामीले बजारमा धेरै चर्चामा रहेका शेयरमा कम ध्यान दिनुपर्छ । हामीले बजारमा कम चर्चा पाएका तर राम्रो सम्भावना भएका कम्पनीमा लगानी गर्नुपर्छ ।
२) आफूले लिन सक्ने जोखिम मात्र उठाउनुहोस्
बफेट मानिसले आफूले उठाउन सक्ने जोखिम मात्रै लिनुपर्ने सुझाव दिन्छन् । ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ । यसरी खोलाको गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ,’ बफेटले भनेका छन् ।
३) आफैले अनुसन्धान गर्नुहोस्
बफेट निहीत स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्न सुझाव दिन्छन् । ‘लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरुको आफ्नै स्वार्थ हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले लगानी गर्नुअघि सधैं आफै अनुसन्धान गर्नुहोस् । कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ ।’ यसको अर्थ पछिल्लो समाजिक सञ्जालमा यो कम्पनी किन्नुस् अथवा यो राम्रो छ भनेर धेरैले अभिब्यक्ति दिएका हुन्छन् । यस कारण सबै आफ्नो स्वार्थ अनरुप कम्पनीको प्रचारप्रसार गरेका हुन् । यस कारण लगानी गर्ने कम्पनीमा आफैले सुक्ष्म अनुसन्धान गनुपर्छ ।
४) सक्स होस् वा स्टक्स, गुणस्तरमा ध्यान दिनुहोस्
बफेट सक्स (मोजा) होस् या स्टक्स (शेयर ) गुणस्तर मात्र किन्नुपर्ने सुझाव दिन्छन् । ‘त्यो पनि सस्तोमा किन्नुहोस्,’ उनले भनेका छन्, ‘आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुपर्छ । अझ त्यस्ता शेयर निकै तल्लो विन्दुमा आएको बेला खरीद गर्नुपर्छ । बजार घटेको बेला खरीदका लागि उपयुक्त समय हुन्छ । यसबाट हामीले शेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष जस्तै सञ्चालक समिति ,कम्पनीको विगत १० देखि पाँच वर्षको वित्तीय विवरणलाभांश लगायतका महत्वपूर्ण पक्षहरुमा ध्यान दिनुपर्ने हुन्छ ।’
लगानीकर्ता वा कारोबारले कम्पनीको आधारभुत तथा प्राविधिक कुराहरु सबै जान्नु जरुरी हुन्छ । बजारको मनोविज्ञान पनि बुझ्नु जरुरी हुन्छ ।
नबुझी गरिएको लगानी डुब्न सक्छ । सोही कारण पनि यदि तपाईं शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पहिले अध्ययन, अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । अनि मात्र बल्ल बन्न सकिन्छ शेयर बजारबाट सफल लगानीकर्ता ।