काठमाडौं । केही दिनयता शेयर बजार सुस्त देखिएको छ । नेप्सेले एउटा निश्चित लय समात्न सकेको छैन । नयाँ अर्थमन्त्री नियुक्त भएपछि केही दिन लगानीकर्तामा उत्साह देखिए पनि अहिले त्यो उत्साह सुस्ताएको छ । यसो त अर्थमन्त्रीले पूँजी बजार सुधारका कार्यक्रम अघि सार्ने बताइरहेका छन् । नियामक तथा अन्य सरोकारवालासँग पनि उनले सुझाव लिएका छन् । यद्यपि यसलाई पनि बजारले अझै राम्रोसँग लिन सकेको छैन ।
बढ्दो तरलता र निरन्तर घट्दो क्रममा रहेको ब्याजदरले पनि बजार सुधार्न नसकेपछि अब यी अवरोधका रूपमा देखिएका नीतिगत विषयलाई नियामक निकायहरूले सम्बोधन गर्नुपर्ने जानकार बताउँछन् । समग्रमा हेर्दा लगानीकर्ताको मनोबल नै सकारात्मक हुन नसकेको उनीहरूको भनाइ छ ।
बुधवार पनि नेप्से परिसूचक ३ दशमलव ३४ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ६३ दशमलव ९५ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०९ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत वृद्धि भएको छ ।
३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटकमा रू. ३ अर्ब ४९ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशत वृद्धि भएको छ । गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
गोर्खाज फाइनान्सको शेयर मूल्य रू.९४६ र बुद्धभूमि नेपालको शेयर मूल्य रू. ६०५ पुगेको छ । त्यस्तै सर्वोत्तम सिमेन्ट्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ६७२ दशमलव ७० पुगेको छ ।
बुधवार सबैभन्दा बढी बोटलर्स नेपाल बालाजुका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ३२ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार ३५० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य ८ दशमलव ०८ प्रतिशत घटेर रू. ८ दशमलव ३१ मा कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९३ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने सूचीमा दोस्रोमा रहेको शिवम सिमेन्ट्सको रू. १७ करोड ६० लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।