काठमाडौं । धितोपत्र कारोबारमा ब्रोकरहरूले लिइरहेको कमिसन थोरैले घट्ने निश्चित भएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डले गत कात्तिक १ गते गरेको ब्रोकर कमिसन घटाउने निर्णय स्वीकृत गरेपछि ब्रोकर कमिसन घट्ने पक्का भएको हो ।
लगानीकर्ताहरूको लामो समयदेखिको मागबमोजिम बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउने निर्णय गरेका थिए । ‘लगानीकर्ता रहे मात्र धितोपत्र बजारको औचित्य रहने’ तर्क गर्दै उनले सो निर्णय लिएका थिए । उनले त्यसबेला ब्रोकरको मात्र नभएर बोर्डकै कमिसन समेत घटाउने निर्णय गरेका थिए । वैशाख १२ गते मन्त्रीस्तरीय बैठकबाट निर्णय गराएर अर्थमन्त्री वर्षमान पुनले बोर्डलाई ब्रोकर कमिसन घटाएर कार्यान्वयन गर्ने बाटो खुला गरिदिएको अर्थ मन्त्रालय स्रोतले आर्थिक अभियानलाई जानकारी दियो । बोर्डमा पनि यस सम्बन्धमा अर्थ मन्त्रालयले लिएको निर्णयको पत्र प्राप्त भइसकेको बोर्ड उच्च स्रोतले जानकारी दिएको छ ।
‘अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले घटाइएको ब्रोकर कमिसन कार्यान्वयनसँगै बोर्डका काम कारबाहीलाई नियमित रूपमा अघि बढाउने विषयमा आवश्यक निर्णय गर्नेछ,’ स्रोतले भन्यो । बिहीवारै यस विषयमा बोर्ड सञ्चालक समिति बैठक बसेर टुंग्याउने तयारी भएको अवस्थामा अन्तिम समयमा आएर बोर्ड बैठक स्थगित भएको र शुक्रवार पनि बस्न नसकेको स्रोतले जानकारी दिएको छ ।
बोर्डले धितोपत्र कारोबारमा कायम अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको थियो । यसअघि बोर्डले २०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।
हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै २० लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशतसम्म कमिसन लाग्ने व्यवस्था छ ।
बोर्डले प्रस्ताव गरेअनुसार ब्रोकर कमिसन कार्यान्वयनमा आए आगामी दिनमा ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ३६ प्रतिशत, ५० हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाख रूपैयाँदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत तिर्नुपर्नेछ । आगामी दिनमा २० लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २४ प्रतिशतसम्म कमिसन लाग्नेछ । सँगसँगै ब्रोकरहरूबाट बोर्डले लिने शुल्क पनि घट्ने भएको छ । हाल लगानीकर्ताले गर्ने कारोबार रकमको शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क बोर्डले प्राप्त गर्दै आएको छ । उक्त शुल्कलाई शून्य दशमलव शून्य १४ प्रतिशत मात्र कायम गर्न बोर्डले प्रस्ताव गरेको थियो ।