काठमाडौं । पछिल्लो साढे २ वर्षदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्न अनुमति दिएको छ । यसबाट यहाँका उद्योगहरूमा हुने गहुँको माग धान्न सहज हुने सरकारी अधिकारीहरूले बताएका छन् । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले शनिवार जारी गरेको विज्ञप्तिअनुसार भारतले नेशनल कोअपरेटिभ लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न स्वीकृति दिएको हो । गहुँ र आटाको मूल्यवृद्धि नियन्त्रण तथा खाद्य सुरक्षालाई दृष्टिगत गर्दै भारतले २०७९ वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । यसअघि संसारका ठूला गहुँ निर्यात गर्ने मुलुकहरू रूस र युक्रेन आपसी द्वन्द्वमा फसेसँगै संसारभर गहुँको मूल्य बढेको थियो ।
भारतको प्रतिबन्धका कारण नेपाली बजारमा गहुँबाट उत्पादित खाद्य वस्तुको मूल्य बढ्न थालेपछि मैदा, चाउचाउ तथा बिस्कुट उत्पादकलगायतले गहुँ, पिठो र मैदाको सहज आपूर्ति गरिदिन सरकारसँग माग गर्दै आएका थिए । कतिपयले मूल्य वृद्धि नगरीकन खाद्य वस्तुकै परिमाण र आकार घटाए, जसलाई अर्थतन्त्रमा ‘स्रिंकफ्लेशन’ पनि भन्ने चलन छ ।
उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्दै गत कात्तिकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट २ लाख टन गहुँ आयात गर्न पहल थालेको थियो । मन्त्रालयले गहुँ आपूर्तिका लागि भारतसँग आग्रह गरेको करीब ३ महीनापछि भारतले त्यसमा स्वीकृति जनाएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले आइतवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अनुरोधमा भारत सरकारले हामीलाई नेशनल कोअपरेटिभ लिमिटेड (एनसीईएल) मार्फत २ लाख टन गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले अन्यथा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रातर्फ नेपालले गहुँको स्वदेशी उत्पादनबाट माग धान्न सकेको छैन ।’
भारतबाट २ लाख टन गहुँ आयात गरिए पनि अहिलेको अवस्थामा नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थ सहज नहुने उद्योगी/व्यवसायीले दाबी गर्दै आएका छन् । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि आयात रोकिएसँगै बिस्कुट, चाउचाउ र मैदालगायत उद्योगहरूको उत्पादनमा ठूलो असर परेको उद्योगीले बताउँदै आएका छन् । नेपाल बिस्कुट उत्पादक संघका कोषाध्यक्ष दिलीपकुमार श्रेष्ठले अहिलेको अवस्थामा भारतबाट २ लाख टन गहुँ आयात भए पनि उद्योगलाई आवश्यक कच्चा पदार्थका लागि पर्याप्त नहुने बताए । उनका अनुसार भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै अधिकांश बिस्कुट फ्याक्ट्रीको उत्पादन प्रभावित भएको छ ।
‘यसबीचमा बिस्कुटहरूको मूल्यसमेत बढेको छ । कतिपय उद्योग पनि बन्द भएका छन् । उद्योगहरूको माग धान्न र आपूर्ति सहज बनाउन आयात प्रतिबन्ध नै खुलाउन सरकारले पहल थाल्नुपर्छ,’ उनले आर्थिक अभियानसँग भने । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने उद्योगीहरूको भनाइलाई खण्डन गर्दै उद्योगको आवश्यकता सहज बनाउन आयात प्रतिबन्ध नै खोल्नुपर्ने अवस्था नभएको बताए । उनका अनुसार अहिले भारतले दिएको २ लाख टन नै उद्योगको माग धान्न पर्याप्त छ ।
गतवर्ष सरकारले ३ लाख टनभन्दा बढी गहुँ आयातको स्वीकृति पाउँदा पनि उद्योगीले करीब डेढ लाख टन मात्रै आयात गरेकाले यसपालि कोटा घटाएर २ लाख टन मात्रै माग गरिएको उनले बताए । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७३ करोड रुपैयाँ बराबरको गहुँ आयात गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा करीब ७ लाख हेक्टर जमीनमा २१ लाख टन गहुँ उत्पादन हुने गरेको छ । तर, यो उत्पादन औद्योगिक प्रयोजनका लागि पर्याप्त हुँदैन । त्यसकारण भारतबाट आयात गर्नुपरेको मन्त्रालयको भनाइ छ । नेपालले भारतबाहेक मेक्सिको, चीन, जापान, थाइल्यान्ड, बेलायत, बंगलादेशलगायत अन्य मुलुकबाट पनि गहुँ आयात गर्छ । विश्वव्यापी रूपमा रूस, यूरोपेली संघ, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युक्रेन, अर्जेन्टिना र क्यानडापछि भारत आठौं ठूलो गहुँ निर्यातकर्ता हो ।