विराटनगर। उद्योग संगठन मोरङले आगामी माघ ११ गतेदेखि विराटनगरमा ‘विराट एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । एक्स्पो विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । माघ २० गतेसम्म सञ्चालन हुने विराट एक्स्पोको आयोजनामा ३ करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार एक्स्पोमा ९ ओटा पेभिलियन अन्तर्गत २६८ ओटा स्टल रहनेछन् ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका विभिन्न उद्योग र व्यवसायका स्टल राखिनेछन् । प्रमुख आकर्षणको रूपमा विराट बजार बिटुबी, स्टार्टअप भिजन कोशी ह्याकाथन, रोजगार कोशी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा, डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कृषि, पर्यटन र साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज्)का स्टल रहनेछन् ।
विराट एक्स्पोको संयोजक भोलेश्वर दुलाल (भोला)ले भने, ‘यस वर्ष हामी २०७९ सालमा आयोजना गरिएको एक्स्पोभन्दा अझ बढी सेवा र सुविधासँगै कार्यक्रम भव्य बनाउने लक्ष्यमा छौं । विशेषगरी बाहिरबाट आउने आगन्तुकका लागि नि:शुल्क बस सेवा उपलब्ध गराइनेछ ।’ सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र फिल्ड निर्माणको काम शुरू भएको पनि उनले बताए ।
विराट एक्स्पोका लागि निर्धारित टिकट दर बिहान १० बजेदेखि ३:३० बजेसम्म १०० रुपैयाँ हुनेछ भने ४ बजेदेखि राति ८ बजेसम्म २०० रुपैयाँ लाग्नेछ । साँझको समयमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ, जसमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति हुनेछ ।
कार्यक्रममा पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य र स्वप्न सुमन लगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ । विराट एक्स्पोको आयोजनाले मोरङको उद्योग, व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।