काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (साउन, भदौ र असोज)मा ३.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले कार्यालयले मंगलवार (आज) सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आव ०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आवको अन्तिम त्रैमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशत मात्र विस्तार हुने कार्यालयको प्रक्षेपण छ । गत आवको अन्तिम त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो ।
यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
यस्तै, यातायात क्षेत्र, स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख भएको बताइएको छ । साथै यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारण अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको कार्यालयको अनुमान छ।
मौसमी प्रभाव असमायोजित आर्थिक वृद्धिदर : अघिल्लो आव र चालू आवको सम्बन्धित त्रैमासिकको तुलनात्मक वृद्धिदर
स्रोत : राष्ट्रिय तथ्यांक कार्यालय
१८ औद्योगिक क्षेत्रहरूमध्ये १७ ओटाको वृद्धिदर धनात्मक, निर्माण क्षेत्र ऋणात्मक
यो त्रैमासमा प्रस्तुत गरिएका १८ ओटा औद्योगिक क्षेत्रहरूमध्ये १७ ओटाको वृद्धिदर धनात्मक रहने अनुमान गरिएको छ, जसमा विद्युत तथा ग्याँस क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै (२१.४५) छ । त्यसपछि दोस्रोमा यातायात तथा गोदाम क्षेत्र छ । यो क्षेत्रको वृद्धिदर ६.७ प्रतिशत छ । निर्माण क्षेत्र भने ०.३ प्रतिशतले ऋणात्मक रहने अनुमान गरिएको छ ।