म्याग्दी । जिल्लामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति सुस्त देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा निर्माणाधीन उक्त आयोजनाले सात वर्षमा ७२ प्रतिशत मात्र भौतिक प्रगति गरेको हो ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण हुँदै छ । २०७२ सालमा आयोजनाको पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर इन्जिनियरिङ प्रक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) मोडलमा निर्माण अघि बढाइएको थियो ।
आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको बताए ।
‘बाँध, ६ हजार दुई सय ७० मिटर लामो मुख्य शुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ,’ उनले भने ‘स्विचयार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्य्राउने पोखरी), पावर इन्टेक तथा मुख्य शुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।’
मुख्य शुरूङका चारओटा अडिटबाट पुस दोस्रो सातासम्ममा २ हजार २४३ दशमलव आठ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताए । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र ५ झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृह निर्माणाधीन छ ।
आयोजनाको भौतिकतर्फ ७२ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको छ । आयोजनाले सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको ४५ महीना अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महीना म्याद थपिएको हो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिनेछ । चारओटा टावरसहितको प्रसारण लाइन पनि बनिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा शुरूङ खन्न शुरू गरेको थियो ।