काठमाडौं। ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले सोमवार हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरीदका साथै चनौटास्थित सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए ।
यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न पाँच सौर्य परियोजना अन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ । नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रसारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।