काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ दशमलव १५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. २ करोड ६७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ४० लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा २६ दशलमव ७४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेकोमा चालू आवमा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ६१ करोड ८९ लाख छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ५० करोड ४३ लाख सञ्चिति गरेको छ । सो अवधिसम्म कम्पनीले रू. ३ अर्ब २३ करोड निक्षेप संकलन गरेर रू. ७ अर्ब ६२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८१ दशमलव ५० छ ।