काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनासम्ममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ८३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १४७ दशमलव ४२ प्रतिशत बढी भएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत वर्ष ४ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष इम्पेरमेन्ट चार्ज वापत कम रकम छुट्याएका कारण कम्पनीको खुद नाफा बढेको हो । कम्पनीले गत वर्ष इम्पेरमेन्ट चार्ज बापत् १० करोड ५९ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो भने यस वर्ष २ करोड ७६ लाख रुपैयाँभन्दा बढी मात्र छुट्याएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने ८ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ छ । रिटर्न अर्निङ तथा जगेडा कोष रकम भने ६२ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव २१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव १० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा छ ।