काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा स्थगित भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेका कारण फागुन २८ गते (आज)का लागि आह्वान गरिएको सभा स्थगित भएको जानकारी दिएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले चैत ८ गते पुनः सभा गर्ने निर्णय गरेको छ ।
सभा मिरावल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजे हुने कम्पनीको भनाइ छ । पूर्व निर्धारित प्रस्तावहरू नै आगामी सभामा पेश हुनेछन् ।
कम्पनीले सभाका लागि फागुन १५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रदेश स्तरको विकास बैंक हुनका लागि न्यूनतम चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत गरेको छ ।
यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने जिम्मेवारी सभाले प्रदान गर्नेछ ।