काठमाडौं । जुत्ता उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चर्स प्रालिले ५ महीनाको रोकावटपछि पुन: भारततर्फ जुत्ता/चप्पल निर्यात शुरू गरेको छ । चर्चित ब्रान्ड ‘गोल्डस्टार’ जुत्ता उत्पादक उक्त कम्पनीले केही हप्ताअघि ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)बाट गुणस्तर प्रमाणपत्र पाएसँगै भारततर्फको निर्यात पुन: शुरू गरेको हो ।
दुई साता जुत्ता/चप्पल पुन: निर्यात शुरू गरेको कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले आर्थिक अभियानलाई बताइन् । उनका अनुसार कम्पनीले कुल जुत्ता/चप्पल उत्पादनको ३० देखि ४० प्रतिशतसम्म भारत निर्यात गर्दै आएको छ ।
चार दशकभन्दा पुरानो जुत्ता उद्योगको लोकप्रिय ब्रान्ड गोल्डस्टार भारत निर्यात हुन थालेको ३० वर्ष भइसकेको छ । पछिल्ला केही वर्षमा भने कम्पनीले भारततर्फ निर्यात गर्दै आएको जुत्ताको परिमाण घटेको छ । यसलाई बढाउन कम्पनीले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग खोल्ने योजना अघि सारेको छ ।
उक्त विशेष आर्थिक क्षेत्रमा कारखाना खोल्न किरण सुजले विशेष आर्थिक क्षेत्र प्राधिकरण, नेपालमा आवदेन बुझाइसकेको छ । तर, तत्काल त्यहाँ लगानी गर्ने तयारी भने नभएको राणाको भनाइ छ । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ७ को संशोधनले पहिला नै दर्ता भई सञ्चालनमा रहेका पुराना उद्योगहरू पनि सेजमा जान पाउने व्यवस्था गरेपछि गोल्डस्टारले त्यहाँ जान आवेदन दिएको थियो । प्राधिकरणका अनुसार किरण सुजले सेजमा खोल्ने फ्याक्ट्रीमा ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो ।
- भारतीय बजारलाई लक्ष्य गरी भैरहवा सेजमा नयाँ कारखाना खोल्न आवेदन दिएको कम्पनी भारत निर्यातमा अवरोध भएपछि सशंकित
- भारतीय गुणस्तर प्रमाणपत्र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानले उही समस्या बारम्बार दोहोरिन सक्ने आशंका
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट चालू आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा ५२ करोड ३२ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको १४ लाख ९९ हजार १५४ जोर जुत्ता/चप्पल भारत निकासी भएको छ ।
किरण सुजले जुत्ता र चप्पल दुवै मिलाएर वार्षिक ९६ लाख जोर उत्पादन गर्ने गरी उद्योग सञ्चालनको प्रस्ताव प्राधिकरणसमक्ष पेश गरेको थियो । प्राधिकरणका अनुसार किरण सुजले प्रारम्भमा ६ महीनाभित्र उद्योग चलाउने प्रस्ताव गरे पनि तत्काल सेजमा उद्योग खोल्न अझै तयार नभएको राणाको भनाइ छ । अहिले बीआईएस १/१ वर्षमा नवीकरण गर्नुपर्छ र नवीकरणमा समस्या दोहोरिने स्थिति रहेकाले कम्पनी सेजमा जान हच्किएको हो । निर्यातको उद्देश्य राखेर सेजमा लगानी बढाउन कम्पनी अघि सरेको थियो ।
गुणस्तर प्रमाणपत्र नवीकरणमा भारतले ढिलाइ गरिदिँदा अहिले जुत्तासँगै सिमेन्ट, प्लाइउड, जस्तापातालगायत वस्तुको निर्यातमा विलम्ब हुँदै आएको छ ।
शनिवार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले नेपाल गुणस्तर (एनएस) र बीआईएस मापदण्डबीच समानता तथा पारस्परिक मान्यताको विषय उठाएको थियो । एक अर्को देशको गुणस्तर प्रमाणपत्रलाई पारस्परिक रूपमा मान्यता दिने भए लगानी बढाउन सहज हुने राणाको भनाइ छ । ‘भारतले एनएस र नेपालले बीआईएस प्रमाणपत्रलाई मान्यता दिने भएमा सेजमा कारखाना स्थापना गर्न ढुक्क हुने अवस्था हुन्थ्यो । सेजमा जानका लागि हामी तयार छौं, सोही किसिमले सेजभित्रको कारखाना तथा लगानीको डिजाइन तयारसमेत भएको छ,’ उनले भनिन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम अधिकारीले एनएस र बीआईएसको मापदण्ड समान बनाउने गरी अघि बढ्ने समझदारी सचिवस्तरको बैठकमा बनेको जानकारी दिए । ‘यी दुवै गुणस्तर प्रमाणपत्र तथा चिह्नलाई समान बनाउने तहसम्म पुग्न यसका पूर्व आवश्यकताहरूमा काम गर्ने सहमति भएको छ,’ अधिकारीले भने, ‘स्ट्यान्डर्ड हार्माेनाइजेशन अर्थात् दुवैतिरका मापदण्ड समान बनाउन समन्वय गर्ने र दुवै देशका मापदण्डमा एकरूपता ल्याउने, दोस्रो परीक्षण ल्याबहरू र त्यस्ता ल्याबबाट जारी प्रमाणपत्रलाई मान्यता दिने विषयहरू पर्छन् ।’
उनका अनुसार सरकारले वातावरण बनाएको हो । यो लागू गर्ने कुरामा सम्बद्ध देशका सम्बद्ध विभाग वा निकाय सक्रिय हुनुपर्ने उनको भनाइ छ । ‘एनएस र बीआईएसको गुणस्तर मापदण्ड समान बनाई एक अर्को देशको गुणस्तर मापदण्डलाई मान्यता दिने स्थिति भए नेपाल गुणस्तर तथा नापतौल विभागले जारी गरेको प्रमाणपत्रको आधारमा भारतमा सोझै सामान निकासी हुन पाउँछ,’ अधिकारीले भने ।