लस एन्जलस (अमेरिका) । क्यालिफोर्नियाको सुपेरियर कोर्टले शुक्रवार स्टारबक्स कफी कम्पनीलाई ५ करोड डलर (६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
डेलिभरी ड्राइभरमाथि तातो कफी खसेको घटनासम्बन्धी मुद्दामा अदालतले उक्त आदेश दिएको हो ।
सन् २०२० मा डेलिभरी ड्राइभर माइकल गार्सियाले तातो कफीलगायत सामान लिने क्रममा उनको शरीरमा तातो कफी खसेको थियो ।
सन् २०२० मा क्यालिफोर्निया सुपेरियर कोर्टमा दायर गरिएको मुद्दा अनुसार, गार्सियाले लस एन्जलसको ड्राइभ-थ्रुमा पेय पदार्थ लिने क्रममा उनको काखमा तातो पेय पदार्थ खसेको थियो, जसका कारण उनी गम्भीर रूपमा जलेका थिए । र, उनको जननेन्द्रिय कमजोर पार्ने गरी नशामा असर परेको थियो । सोही कारण गार्सियाले शारीरिक र मानसिक पीडासमेत भोगेको बताइएको छ ।
उक्त मुद्दामा स्टारबक्सले ढक्कन सुरक्षित गर्न असफल भएर हेरचाहको कर्तव्य उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।
मुद्दाको बयानमा गार्सियाका वकिल माइकल पार्करले भने, ‘स्टारबक्सले आफ्नो उत्पादन सुरक्षामा लापरवाही गरेपछि नै यस्तो दुर्घटना भयो । यो कम्पनीको जिम्मेवारी हो ।’
क्यालिफोर्निया अदालतको उक्त फैसलाविरुद्ध स्टारबक्सले पुनरावेदन गर्ने योजना बनाएको छ । कम्पनीका प्रवक्ताले भने, ‘हामी सुरक्षा मापदण्डकै पक्षमा छौं । यसलाई हामी अदालतमै चुनौती दिनेछौं ।’
यो मुद्दा सन् १९९४ मा म्याकडोनाल्ड्सविरुद्ध भएको प्रख्यात केससँग मिल्दोजुल्दो छ, जहाँ स्टेला लिबेकले गर्म कफीले जल्ने घटनापछि ३ मिलियन डलर पाएकी थिइन् ।
विशेषज्ञहरूले यसले कम्पनीहरूलाई उपभोक्ता सुरक्षाप्रति सचेत गराउने संकेत बताएका छन् । एजेन्सीको सहयोगमा