यस वर्ष सन् २०१९ को अर्थशास्त्रको नोबेल पुरस्कार माइकल क्रेमरसँगै दम्पत्ति अभिजित बेनर्जी र एस्थर डुफ्लोलाई संयुक्त रूपमा दिने घोषणा भयो । यो घोषणासँगै उनीहरूका शोधकार्यहरू, अनुसन्धान पद्धति र नतीजाहरूका बारेमा झन् चर्चा चुलियो । विश्वव्यापी गरीबी निवारणका लागि प्रयोगात्मक अवधारणाको खोजका लागि उनीहरूलाई सो पुरस्कार दिइएको नोबेल कमिटीले जनाएको छ । संयोगले क्रेमर र बेनर्जी हार्वड विश्वविद्यालयका विद्यार्थी थिए भने बेनर्जी र डुफ्लो विश्वप्रसिद्ध संस्था म्यासाचुसेट्स प्राविधिक संस्थानको प्राध्यापक भए । त्यसपछिको उनीहरू सहकार्य गरी गरीबी निवारण र प्रयोगात्मक अर्थशास्त्रका लागि नौला आयामहरू थप्न सक्षम भए । अन्ततः बेनर्जी र डुफ्लाले लामोे सहकार्यसँगै ४ वर्ष अगाडिबाट दाम्पत्य जीवनको यात्रा समेत शुरू गरेका छन् ।
अमर्त्य सेनपछि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने अभिजित बेनर्जी भारतीय मूलका दोस्रो व्यक्ति हुन् । कोलकाता विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयको औपचारिक अध्ययनपछि उनले हार्वड विश्वविद्यालय पुगेर उच्चतहसम्मको अध्ययन पूरा गरे । म्यासाचुसेट्स प्राविधिक संस्थानको प्राध्यापन पेशासँगै बेनर्जीले फ्रान्सेली मूलकी एस्थर डुफ्लोसँगै मिलेर आर्थिक तथा विकास अनुसन्धानको कार्यमा लामो समय खर्चिए । उनीहरूले आफ्ना सबै अध्ययन तथा अनुसन्धानको कार्य अब्दुल लतिफ पोभर्टी एक्शन ल्याब अर्थात् ‘जेपल‘ नामको संस्थामा आबद्ध भई गरेका थिए । यो संस्थाले शुरूमा भारतको अर्थव्यवस्थामा केन्द्रित धेरै शोध अनुसन्धान गरेको थियो । आजभन्दा करीब २० वर्षपहिले स्थापित यो संस्था प्रयोगात्मक अध्ययन पद्धति अवलम्बनका लागि प्रसिद्ध मानिन्छ ।
भारतको ग्रामीण क्षेत्रको आर्थिक तथा गरीबीको अवस्थालाई गहिरोसँग विश्लेषण गरेर उनीहरूले सन् २०११ मा गरीब–अर्थशास्त्र (पुअर इकोनोमिक्स) पुस्तक प्रकाशित गरे । पुस्तक मार्फत विभिन्न तर्कसहितका उनीहरूको अनुत्तरित प्रश्नहरू आज विश्वभरका बौद्धिक व्यक्तित्वहरूका लागि प्रेरणादायी छन् । उदाहरणका लागि सरकारले खाद्यान्न उत्पादन र आपूर्तिका लागि गरेको कुल खर्चको ७ प्रतिशत खर्च चिनी उत्पादन र वितरणमा भएको छ । त्यसैगरी स्वास्थ्यतर्फको अर्को ७ प्रतिशत खर्च त्यही चिनीबाट उत्सर्जित रोगसँगको प्रतिरोधका लागि हुने गरेको छ । यो अवस्थाको कटौती गर्ने हो त्यो खर्चले भने १० करोड भोका मानिसको पेट भर्नेका लागि आवश्यक उत्पादनहरू गर्न पुग्ने तर्क उनीहरूले सप्रमाण पेश गरेका छन् ।
बेनर्जी र डुफ्लोको प्रयोगात्मक अध्ययन भारतमा मात्र सीमित थिएन । उनीहरूले प्रायः सबै महाद्वीपका दर्जनौं देशमा गरीबीका समस्या र त्यससँगै आउने अन्य विशिष्ट समस्या बुझ्न लामो समय व्यतीत गरेका थिए । समस्यासँगै त्यसको समाधान खोज्ने प्रयास र त्यस मार्फत आफ्ना सुझाव दिने काम पनि उनीहरूले गरेका छन्, जुन पूर्णरूपमा व्यावहारिक र वैज्ञानिक देखिन्छ । गरीब बनेर जन्मनु मानिसको दोष होइन, तर गरीब बनेर मर्नुचाहिँ मानिसको दोष हो भन्ने उक्तिलाई उनीहरूले प्रमाणित गर्ने कोशिश गरेका छन् । मोरक्कोका मानिसहरू भोको पेट बसेर आफूसँग भएको पैसाले टेलिभिजन किनिरहेको र भारतमा शिक्षाको नाममा भौकै बच्चाहरूलाई जबरजस्ती विद्यालय पठाउन बाध्य पारिएको जस्ता अव्यावहारिक संस्कारका उनीहरूले खिल्लीसमेत गरेका छन् । उनीहरूको तर्क छ, गरीबलाई सधैं गरीबीसँग डट्न सिकाइएको छ तर उनीहरूको उत्थानका लागि होइन ।
आज पनि हाम्रो समाजमा गरीबलाई हेर्ने दृष्टिकोण अलग छ । उन्नत र शिक्षित वर्गको हेपाहा र उपेक्षामा परिरहेको गरीब व्यक्तिले आफू कमजोर भएको स्वीकार गरिसकेको हुन्छ । तसर्थ धनी र गरीबबीच राज्य वा उन्नत व्यक्तिहरूले गर्ने व्यवहार गरीब व्यक्तिका लागि उसको उत्थानमा ठूलो दोष बन्न सक्छ । कमजोर आत्मबलले गरेको परिश्रमबाट प्रतिफल प्राप्त नहुने, प्रतिफल प्राप्त नभएपछि काम नगर्ने र अल्छी हुने एवम् त्यसको परिणाम गरीबीका बहुआयामिक पक्षहरूमा देखिने सारलाई प्रयोगात्मक अध्ययनबाट सिद्ध गरिएको छ । बेनर्जी दम्पत्तिको गरीब–अर्थशास्त्रका आख्यानहरू वास्तवमा महँगो तथ्यहरूको भण्डारण हो जहाँ वास्तविक गरीबहरूको आर्थिक जीवनलाई जस्ताको तस्तै साध्यमा रूपान्तरण गरिएको छ ।
गरीबी–अर्थशास्त्रका आख्यानहरूमा आधुनिक समाजमा गरीब भएर जन्मेको व्यक्ति गरीब भएरै मरिरहेका प्रशस्त उदाहरण पेश भएका छन् । गरीबको पहुँचमा शिक्षा र राज्यको भरणपोषण सुलभ छैन, जसका कारण उसको स्वास्थ्यको अवस्था कमजोर हुन्छ । त्यसको अर्को असर ऊ कमजोर भएर बाँच्न सिक्छ र अज्ञानी समेत बन्छ । दाताहरूको मुख ताक्नु उसको स्वाभाविक दैनिकी बन्छ । दाताहरू उसको आत्मबल किन्नका लागि पैसा दिन तयार हुन्छन् । त्यसको परिणाम बहुआयामिक गरीबीको प्रतिशतमा मापन गरिन्छ भने गरीबीसँग डट्नका लागि प्रेरणा दिने कार्यक्रमहरू मौलाउँछन् । आधुनिक विश्वको बजार व्यवस्था किन गरीबका लागि प्रत्युत्पादक छ भन्ने खोजहरूलाई उनीहरूले अहिलेसम्मको कार्य नतीजाका रूपमा अर्थ लगाएका छन् । त्यसको समाधानका लागि उपायहरू ‘गुड इकोनोमिक्स फर हार्ड टाइम’मा समावेश हुने अपेक्षा गरिएको छ । जुन उनीहरूको खोजको अर्को शृंखलाका रूपमा यही नोभेम्बरमा प्रकाशनमा आउने तयारी भइरहेको जनाइएको छ । यस अगाडि ह्यान्डबुक अफ फिल्ड एक्पेरिमेन्ट्स नाममा दुईओटा भोल्युम प्रकाशित भइसकेका छन् । यद्यपि आउने पुस्तकका बारेमा भने आम–अर्थशास्त्रका विद्यार्थीको अपेक्षा मेल नखान पनि सक्छ ।
पछिल्लो समय प्रयोगात्मक अध्ययनमा माइकल क्रेमर पनि जोडिए । उनीहरूको अध्ययन विधि वैज्ञानिक र प्रयोगमा आधारित थियो । अनुसन्धान पद्धतिमा प्रयोग गरिने ‘क्लिनिकल’ (उपचारात्मक) विधिलाई नै उनीहरूको गरीब समाजको अध्ययन गर्न उपयोग गरेका थिए । क्रेमरले त्यही प्रयोगलाई केन्यामा लागू गरेका थिए भने बेनर्जी दम्पत्ति अधिकतर समय भारतमा केन्द्रित भए । केन्यामा उन्नत बीउबिजनको अनुदानको कार्यक्रमसहितको हस्तक्षेपकारी प्रयोगात्मक अनुसन्धान गरेका थिए । सहयोगसहितको प्रयोगात्मक एवम् हस्तक्षेपकारी अभ्यासहरू विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र ऋण प्रवाहको माध्यम मार्फत गरेका थिए । आफ्नो अनुसन्धान पद्धतिबारे डुफ्लाले भनेकी छन्, ‘वैज्ञानिक प्रमाणमा आधारित गरीबी निवारणका साध्यहरूको प्रतिपादन गर्नु नै प्रयोेगात्मक अध्ययनको मूल लक्ष्य हो ।’
वास्तवमा विकसित मुलुकहरूले गरीब मुलुकहरूलाई सधैं प्रयोगशालाका रूपमा उपयोग गरिरहेका छन् । क्रेमर, बेनर्जी र डुफ्लाको अध्ययनको निष्कर्ष पनि गरीबी निवारणमा आज प्रयोग भएका धेरै कार्यक्रमप्रति नकारात्मक धारणा छ । उनीहरूको तर्क छ, समाजको वैज्ञानिक अध्ययनविना त्यहाँको गरीबी निवारणका लागि कार्यक्रम वा बजेट खर्च गर्नु बालुवामा पानी हाल्नु मात्र हो । एउटामा सफल भएको कार्यक्रम वा आयोजना अर्को मुलुक वा परिस्थितिमा जस्ताको तस्तै नक्कल गर्नु अवैध हो, त्यसलाई वैज्ञानिक र वैधानिक मान्न सकिँदैन । एउटामा सफल भएको कार्यक्रम वा आयोजना अर्को परिस्थितिमा असफल हुन सक्छ । यो अर्थमा गरीबहरू धनीहरूको प्रयोगशालाका रूपमा उपयोग भइरहनु गरीबहरू माथिको शोषण हो ।
गरीबी निवारणका लागि प्रयोगात्मक अवधारणाको खोजी गरिरहेको संस्था ‘जेपल’ मार्फत करीब १ हजार हाराहारीमा आर्थिक विकास र गरीबी निवारणमा केन्द्रित अनुसन्धानात्मक कृतिहरू प्रकाशित भइसकेका छन् । जेपलका अनुसन्धानात्मक कृतिहरू यति सापेक्ष मानिन्छन् कि उनीहरूको प्रत्येक अनुसन्धान प्रयोगात्मक छ र महँगो समेत परिरहेको छ । उनीहरूको समग्रमा निष्कर्ष यो छ कि गरीबहरू प्रशंसित हुनु वा उनीहरूले सान्त्वना पाउनु आवश्यक छैन । सामान्य समस्यालाई राज्य र अन्य उन्नत स्तरका व्यक्तिहरूले तिलको पहाडका रूपमा अर्थ लगाउने गरेका छन्, जुन आवश्यक छैन । दुर्भाग्यवश, गरीबलाई बुझ्न नसकेकाले गरीबी निवारणको काम महँगो परिरहेको छ ।
लेखक नेशनल काउन्सिल फर इकोनोमिक एण्ड डेभलपमेण्ट रिसर्च (नारेक) का नेपाल निर्देशक हुन् ।