चैत १८, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ ।
सभा पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिबाट सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ दशमलव ६५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको प्रवन्धपत्रको उद्देश्यहरु थप/संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने, यस कम्पनी वैदेशिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय तथा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।