काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि इकाई निष्कासनको मिति तय गरेको छ । क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले पुस ७ गतेदेखि इकाई निष्कासन गर्न लागेको छ ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
छिटो अवधि पुस ११ गतेसम्म निष्कासनमा रहने यी इकाईमा यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस २१ गतेसम्म निष्कासनमा रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाइ माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ । यद्यपि न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ ।
यी इकाई निष्कासन तथा विक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड छ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस इकाईमा आवेदन दिनका लागि मेरो शेयर अनलाइनसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।