काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ५ लाख ३३ हजार २८६ दशमलव ९९ कित्ता संस्थापक शेयर मंगलवार (आज)बाट विक्रीमा ल्याएको छ ।
कम्पनीले ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी र १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयरका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी आएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेको ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा ल्याइएको यी शेयर तोकिएको अवधिभित्र विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाका लागि विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
दुवैतर्फको शेयर खरीदका लागि कम्पनीको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयरको कित्ता र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।