काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५८ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ४३ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो ।
अघिल्लो वर्ष कम्पनीले रू. ४० करोड ५२ लाख नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा ४३ प्रतिशत र खुद ब्याज आम्दानी ११ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा रू.५७ करोड ८९ लाख रहेकोमा गत वर्ष बढेर रू. ८३ करोड १७ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्ष रू. १ अर्ब ४९ करोड रहेकोमा गत वर्ष बढेर रू. १ अर्ब ६७ करोड पुगेको हो ।
गत वर्ष कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ २८ पैसा रहेकोमा गत वर्ष बढेर ४३ रुपैयाँ २१ पैसा पुगेको छ ।
कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो वर्षको तुलनामा गत वर्ष बढेको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ३९ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ६६ प्रतिशत पुगेको छ ।
कम्पनीको लाभांश क्षमता ६४ दशमलव ४३ प्रतिशत रहेको छ । गत वर्ष कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ७१ रुपैयाँ ३ पैसा रहेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब ३४ करोड भन्दा बढी रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. ८६ करोड ८२ लाख र जगेडामा रू. १ अर्ब ४३ करोड भन्दा बढी सञ्चिती गरेको छ ।