काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँको आधारमा १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो ।
फागुन २७ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाएका छन् ।
यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिकपश्चात मात्र जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।