काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटलको संख्या अनुरूप माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् ।
अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपाल (हान)को प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले होटलको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनीमा राजमार्गको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने भन्दै व्यवसायीले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गरिने बताए । उनले नेपालमा आउने भारतीय पर्यटकबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयमा मन्त्रालय सकारात्मक रहेको बताए ।
सो अवसरमा हानका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायत सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेश गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति थियो ।