काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले जेठ २२ गतेदेखि असार २५ गते सम्म हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद शेयर साउन ३ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले विक्री गरेको हकप्रद शेयर १५ लाख ७७ हजार २११ कित्ता भने विक्री हुन नसकेको कम्पनीले जानकारी दिएको छ । वितरण हुन नसकेको उक्त शेयर लिलमीमा विक्री गरिनेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको हकप्रद शेयर विक्री गरेको हो ।
सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।
कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रुपैयाँ छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रुपैयाँ छ ।