नेपाल पर्वतारोहण सङ्घले नेपालका कम उचाइका १ सय ४ ओटा हिमाल प्रवर्द्धनको जिम्मा निजीक्षेत्रलाई दिन सरकारसँग माग गरेको छ । नेपाल सरकारले आरोहणका लागि खला गरेका ३ सय २६ हिमालमध्ये अहिलेसम्म कोही पनि पुग्न नसकेका १ सय ४ ओटा हिमाल निजीक्षेत्रले मागेको हो । यी हिमालको प्रवर्द्धन गर्न सरकारले अहिलेसम्म केही गर्न नसकेपछि निजीक्षेत्र यसको प्रवर्द्धनका निम्ति कस्सिनु निश्चय पनि स्वागतयोग्य विषय हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा माथि उचाइका १४ मध्ये ८ हिमाल रहेको नेपालमा सोभन्दा कम उचाइका हिमालको प्रवर्द्धनमा सरकारले ध्यान पुर्याउन सकेको छैन । साँच्चै भन्ने हो भने नेपालका कम उचाइका हिमालहरू बढी उचाइका हिमालहरूको छायामा परेका छन् । पर्वतारोहण नेपाली पर्यटन व्यवसायको मौलिक आकर्षण हो । पर्यटन व्यवसायबाट हुने आम्दानीमा पर्वतारोहणको हिस्सा अत्यधिक छ । पर्यटनका सात क्षेत्रमध्ये पर्वतारोहणमा एजेण्टले बुझाउने शुल्क मात्रै रू. १ अर्ब ८५ करोड रहेको पर्यटन मन्त्रालयको तथ्यांक छ । ट्रेकिङ र पर्वतारोहणबाट यो शुल्कमात्रै होइन, होटल, हवाईजहाज, यातायात सेवा र स्थानीय रोजगारीसमेत सृजना भइरहेको हुन्छ । पर्वतारोहणमा आउने पर्यटकको बसाइ अवधि दृश्यावलोकन र अन्य प्रयोजनका लागि आउनेको भन्दा बढी नै हुने गरेको पाइएको छ ।
(सम्पादकीयबाट) वर्ष ७, अंक ३३५, शुक्रवार १ भदौ, २०६९