काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेड (Himalaya Urja Bikas Company Limited) ले आगामी जेठ ९ गते २२ औं वार्षिक साधारण सभा (Annual General Meeting) बोलाएको छ । वैशाख १६ गते बसेको कम्पनी (HURJA) को सञ्चालक समितिको बैठकले काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरी आयोगमा स्वीकृतिका लागि पेश गरेको थियो । तर, विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि मात्र चैत २६ गते अनुमति प्रदान गरेको हो ।
जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (Sebon)मा निवेदन पेश गर्नुपूर्व विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । आयोगको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले साधारण सभामार्फत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डसमक्ष निवेदन पेश गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. ९९ करोड रहेको छ । बोर्डले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्ता पूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ । कम्पनीले निर्माण गरेको १२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती दुई जलविद्युत आयोजनाबाट २०७९ असोज ३० गतेदेखि व्यापारिक उत्पादन शुरु भएको छ । नयाँ जलविद्युत आयोजनाहरू निर्माणका लागि समेत कम्पनी पूर्वतयारीमा जुटेको छ ।