काठमाडौं । पछिल्लो समय धेरै हाइड्रोपावर कम्पनीहरुले धामाधम हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका छन् भने केही कम्पनीले हकप्रद शेयर निष्कासन गरिसकेका छन् । हकप्रद निष्कासनसँगै शेयर आपूर्तिमा वृद्धि हुँदा दोस्रो बजारमा शेयर मूल्य भने प्रभावित भएको छ । पछिल्लो समय ४ हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गरेका थिए ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत , घलेम्दी हाइड्रोपावरले दुई सय प्रतिशत,सिंगटी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले शत प्रतिशत ,हकप्रद शेयर निष्कासन गरेका थिए । त्यस्तै रिडी पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्यो ।
यी कम्पनीहरुमध्ये अपरतामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएर डिम्याट खातामा आएपछि कारोबार आउँदाको पहिलो दिन नेगेटिभ सर्किट लाग्यो । त्यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१८३ दशलमव ६० मा कायम भएको थियो । त्यसपछि कम्पनीको शेयर केही दिन बढेपनि धेरै दिन टिकेन । हाल निरन्तर घट्दो क्रममा रहेको छ । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १६८ दशमलव ३० कायम भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब १८ करोड पुगेको छ । यस कम्पनीको शेयरको आपूर्ति उच्च भएर त्यही अनुसारको माग सिर्जना हुन नसकेपछि शेयर मूल्य बढ्न नसकेको हो । कुनै समय यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार हाराहारीको उचाई पुगेको थियो ।
त्यस्तै सिंगटी हाइड्रो इनर्जीको शत प्रतिशत हकप्रद शेयरको बुक क्लोज हुनु भन्दा पहिला कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०५ दशमलव ८० थियो भने समायोजन पश्चात शेयर मूल्य प्रतिकित्ता रू.२०२ दशमलव ९० कायम भएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य बढ्न सकेको छैन । कम्पनीको हकप्रद शेयर सूचीकृत हुन बाँकी छ भने नविकेको हकप्रद शेयर लिलामी मार्फत विक्री गरेको छ । हकप्रद शेयर सूचीकृत पछि कम्पनीको शेयर आपूर्ति बढ्ने देखिन्छ । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७० कायम भएको छ ।
त्यस्तै रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । बुक क्लोज हुनु भन्दा अगाडि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ सय ७५ थियो भने समायोजन पछि रू. २१६ दशमलव ६७ कायम भएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य घटेर सोमवार प्रतिकित्ता रू. १ सय ७६ मा झरेको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद शेयरको बुक क्लोज हुनु अधि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव २० थियो त्यसपछि समायोजन पश्चात शेयर मूल्य रू. १९० दशमलव १० कायम भएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता रू. १६९ दशमलव ५० मा कायम भएको छ ।
त्यस्तै २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गरेको घलेम्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि प्रतिकित्ता रू. १ सय ५२ दशमलव ५० मा कायम भएको छ ।
पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले पनि हकप्रद शेयर निष्कासनसँगै शेयर आपूर्ति बढ्दा शेयर मूल्य प्रभावित भएको जानकारहरु बताउँछन । बढ्दो आईपीओ र हकप्रद शेयर आपूर्तिले गर्दा पछिल्लो समय समग्र शेयर बजारनै प्रभावित भएको उनीहरुको भनाईछ । यसोत शेयर आपूर्ति अनुसार माग सृजना नभएकाले पनि बजार प्रभावित भएको हो ।