नेपालमै भएर पनि अमेरिकाबाट मेरा आफन्तले आत्तिएर फोन गरेपछि मात्र थाहा भयो, नेपालका केही बैंक धराशयी हुँदै छन्, फेल हुँदै छन् र धमाधम निक्षेप झिकिन थालेको छ । म केन्द्रीय बैंकमा निकै लामो समयसम्म काम गरेर सेवानिवृत्त भएको मान्छे भएका कारण उनले मलाई यसबारे के हो ? भनेर बुझ्न खोज्नुभएको रहेछ । जीवनको अमूल्य कमाइ नेपालकै कुनै बैंकमा राखी त्यसैको ब्याज आर्जनबाट गुजारा चलाउन सहयोग पुग्ने आशाले केही रकम कुनै बैंकमा मुद्दती निक्षेपमा राख्नुभएको रहेछ । त्यसको ब्याज पनि त्यहीँको बचत खातामा जम्मा गर्ने बन्दोबस्त रहेछ । दुवै खाले रकम एउटै बैंकमा रहेकाले अब साँच्चै हल्ला सही हो भने आफ्नो जहाजै डुब्ने पो हो कि ? भन्ने चिन्ता थपिएकाले नेपाल आएर भए पनि उक्त रकम झिक्ने विचारले मलाई के गर्ने कुनै उपाय छ कि ? भनेर सल्लाह माग्नुभएको पनि थाहा पाएँ ।
मैले यहीबीच केही अनलाइनका खबर प्रवाहकहरूबाट ती कुरा बजारमा आएको चाहिँ हो तर बैंक नै धराशयी हुनेगरी रकम झिकिन थालेको कुरा सत्य होइन भन्दिएँ । नौ दशकमा यसरी बैंक टाट पल्टिएको भएको कुनै घटना छैनन् पनि । त्यसो हुनुअघि केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बंैकले अनेकौं उपायद्वारा पनि उद्धार गर्ने व्यवस्था छ, उद्धार गर्ने गरेको छ । त्यसैले डराउनु पर्दैन भनें । मेरा कुराले उहाँ केही आश्वस्त त हुनुभयो तर उनको चिन्ताको शूलचाहिँ रही नै रहेको पाएँ ।
माथिको यो एउटा सामान्य दृष्टान्त मात्र हो । हेर्दा सामान्य जस्तो लागे पनि बैंक तथा वित्तीय क्षेत्रका लागि यो भुसको आगो नै हो । यस्तो चिन्ता गर्नेहरू करोडांैको संख्यामा रहेका निक्षेपकर्ताको पनि होला । निक्षेपकर्तामा यसखाले चासो हुनुलाई अन्यथा मानिँदैन । बैंकिङ साक्षरताकै एक उदाहरण पनि हो यो । खासमा भन्ने हो भने नेपाली बैंकहरूको स्रोतको मुख्य मूल नै निक्षेप हो ।
राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्बाट समेत कर्जाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला कथम् निक्षेपकर्ता पनि सशंकित हुने अवस्था आयो भने त्यो दुर्घटनाको मूल्य यो क्षेत्रमा अकल्पनीय हुनेछ । विश्वासको संकट थेगिनसक्नु हुनेछ ।
त्यस्तो निक्षेपको अधिकांश अंश (८० प्रतिशतसम्म) कर्जाका रूपमा लगानीमा रहेको हुन्छ जसको गुणस्तरमाथि नियमन, निगरानी र अनेकौं खाले नियामकीय व्यवस्थाहरू गरिएका हुन्छन् । केन्द्रीय बैंकको निगरानी हुन्छ । आन्तरिक नियन्त्रण प्रणाली त हुन्छ नै बाहिरी लेखा परीक्षणसमेत नियमित हुन्छ । भएन, कहिलेकाहीँ विशेष निरीक्षणसमेत हुन्छ, भइरहेको पनि देखिन्छ । तर, यति हुँदाहुँदै पनि बैंक वित्तीय संस्थाहरूको कर्जाको गुणस्तरमाथि जहिल्यै प्रश्न उठिरहेकै देखिएको छ । खासमा भन्ने हो भने कोरोना महामारी र त्यसपछिको प्राकृतिक विपद्बाट व्यवसायमा आएको सुस्तीमाथि कर्जाका सेवाग्राहीहरू, लघुवित्त क्षेत्रका सेवाग्राहीहरू र सहकारीपीडितहरूको आन्दोलनका कारण बैंक वित्तीय क्षेत्रको कर्जा असुलीमा असर परेको सत्य हो ।
तर, त्यसलाई सम्बद्ध निकायहरूले उद्धार नै नगरेका होइनन् भन्न नमिल्ला, गरेकै हुन् । तर पनि उद्योग व्यवसायको गति पहिलेको लयमा आउन सकेको छैन । त्यसका अनेकौं आन्तरिक र बाह्य कारण छन् । यसैबीच अहिलेको यो हल्ला भने पूर्वको एक धार्मिक क्षेत्रमा केबलकार निर्माण गर्ने र गर्न नदिने पक्षधरबीचको टकरावका कारण एकाएक कुनै अमुक बैंक डुब्दै छ भनेर त्यसबाट निक्षेपकर्तालाई कुनै अर्को बैंकबाट आफूले राखेको निक्षेप झिक्न सामाजिक सञ्जालीय हल्ला फिँजाइएको देखिन्छ ।
केबलकार निर्माणको लगानीसित जोडिएका कुनै उद्यमी कथित बैंकका मालिकै हुन् जसरी हल्ला फिँजाइएको पनि देखियो । त्यसमा आगोमा घिउ थप्ने काम पनि केही जनजातीय समूहले गरेको अनुभूत हुन्छ । तत्काललाई केबलकार निर्माणको काम स्थगन गर्ने समाचारले त्यहाँ भएको आन्दोलन साम्य भई सरकारी तवरबाट वार्ताको वातावरण मिलाइएको पनि भनिएको छ । धार्मिक आस्था र केबलकारका निर्माणको सम्बन्ध के कस्तो हुन्छ वा हुनुपर्छ भन्ने यस लेखोटको सरोकारको विषय होइन ।
तथापि, केबलकार निर्माणका कुनै लगानीकर्ता र बैंक निक्षेप झिकिनुपर्छ भन्ने प्रसंग भने कताकति बेतुकको सम्बन्ध जोडाएर आएको लागेको हो । हल्ला जे भए पनि यस्तो हल्लाहल्ला नै मात्र हो वा सत्य पनि हो भन्ने कुराको समयमै निराकरण गरिनुपथ्र्यो । त्यो चाहिँ भएको देखिएन । सम्बद्ध नियामकीय निकायहरू यस विषयमा अहिलेसम्म पनि मौन नै देखिएका छन् । कुनै बेला लघुवित्तीय क्षेत्रमा आन्दोलनरत लघुवित्तीय क्षेत्रकै सेवाग्राहीहरूले आन्दोलन चर्काइरहँदा पनि सरोकारवाला निकायहरू मौन बसिदिनाले लघुवित्तीय क्षेत्रको अवस्थामा नराम्ररी असर परेको कुरा त जगजाहेरै छ ।
बैंक वित्तीय क्षेत्र एक संवेदनशील क्षेत्र हुँदै हो । यस किसिमका हल्ला, भ्रम र मिथ्या प्रचारबाजीमा सामाजिक सञ्जालका भाइरलवादीहरूले कुनै अभीष्ट राखेका पनि हुन सक्छन् । समयमै सरोकारी निकाय वा नियमनकारी निकायले आम नागरिकमा छाएको यस्ता हल्लाका भ्रमलाई चिर्नसक्नुपर्छ ।
बैंक वित्तीय क्षेत्र एक संवेदनशील क्षेत्र हुँदै हो । यस किसिमका हल्ला, भ्रम र मिथ्या प्रचारबाजीमा सामाजिक सञ्जालका भाइरलवादीहरूले कुनै अभीष्ट राखेका पनि हुन सक्छन् । समयमै सरोकारी निकाय वा नियमनकारी निकायले आम नागरिकमा छाएको यस्ता हल्लाका भ्रमलाई चिर्न सक्नुपर्छ । आखिर, सबैभन्दा धेरै नियम र कानून, नियमनमा बसिरहेका बैंक वित्तीय क्षेत्र हल्लाका सूचकांकमा होइन, पारदर्शीय वित्तीय सूचकांकमा आधारित हुने क्षेत्र भएकाले त्यसबारेका वित्तीय साक्षरता दिने कामचाहिँ सरोकारीहरूले बेलैमा वा समयसमयमा गर्नैपर्छ । त्यो चाहिँ यो बेला चुकेको देखियो ।
बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् । यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ । पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले बैंक डुबिहाल्छन् भन्न सक्ने अवस्था चाहिँ देखिँदैन । त्यसो त ५ लाखसम्मको निक्षेपको बीमा पनि गरिएको हुन्छ । बैंकहरूसँग पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था पनि रहेको छैन । बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । यस्तो अवस्थामा हल्ला गरिएजस्तो बैंकहरू डुबिहाल्छन् भन्ने आधार देखिँदैन ।
केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत रहेको तिनले प्रकाशित गरेका वासलात हेर्दा थाहा हुन्छ । त्यसो हुँदा राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनामा त्यस्तो अनुपात पर्याप्त देखिएकाले धेरै सहज अवस्था रहेको अनुभूत हुन्छ ।
तत्काललाई मैले अमेरिकामा रहेका मेरा आफन्तलाई नआत्तिन त भनें । त्यो मेरो ज्ञानले देखेको कुरा हो । तर, यो क्षेत्र भनेको संवेदनशील क्षेत्र भएकाले निक्षेप ह्वारह्वार्ती झिकिने जस्तो विषयलाई हलुका ढंगबाट मात्र लिनु हुँदैन, कहिलेकाहीँ नेपालमा कागले कान लग्यो भनेर कान छाम्नतिरभन्दा कागका पछि लाग्ने संस्कार त देखिएको, भोगिएकै हो । त्यो चाहिँ अवस्थालाई कुनै वित्तीय सूचकांकले सम्बोधन गर्न सकोइन । थोपा थोपा गरेर जम्मा गरिएको पानीको थोपाबाट बनेको सागरजस्तै करोडौं नागरिकले बैंक वित्तीय क्षेत्रमा राखेको निक्षेपको सुरक्षा र त्यसको भुक्तानीको प्रत्याभूतिबारे ढुक्क हुने कुरामा सरकार र नियामकीय निकाय हरबखत सचेत रहनुचाहिँ अहिलेको आवश्यकता हो । राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्बाट समेत कर्जाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला कथम् निक्षेपकर्ता पनि सशंकित हुने अवस्था आयो भने त्यो दुर्घटनाको मूल्य यो क्षेत्रमा अकल्पनीय हुनेछ । विश्वासको संकट थेगिनसक्नु हुनेछ ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।