काठमाडौं । झन्डै ६ दशकसम्म आतिथ्य सेवा दिएको पुरानो पाँचतारे होटेल अन्नपूर्णको पुनर्निर्माण शुरू भएको छ । भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स ग्रूपको बहुमत शेयर रहेको अन्नपूर्ण स्क्वायर प्रालिले काठमाडौंको दरबारमार्गमा होटेल अन्नपूर्णको संरचना पुनर्निर्माण सोमवारबाट शुरू गरेको हो । अन्नपूर्ण स्क्वायर प्रालिका समेत अध्यक्ष रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सोमवार भूमिपूजा गरेर संरचना पुनर्निर्माणको शिलान्यास गरे । २५ तलाको हुने उक्त होटेल निर्माण २०८५ वैशाखसम्ममा सम्पन्न गरिने कम्पनीले बताएको छ । उक्त संरचना पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ लगानी हुने कम्पनीको अनुमान छ ।
होटेलको शिलान्यास गर्दै गुरुङले व्यवसायका साथै मुलुकमै रोजगारी सृजना गर्नु पनि मुख्य लक्ष्य रहेको उल्लेख गरे । उक्त अवसरमा उनले यो होटेल सञ्चालनमा आएपछि ५०० भन्दा बढीले रोजगारी पाउने उल्लेख गरे । होटेलसँगै यो कम्पनीले सर्भिस अपार्टमेन्ट पनि निर्माण गर्नेछ । लामो समय नेपाल बस्नुपर्ने विदेशी भीआईपीलाई लक्ष्य गरेर सर्भिस अपार्टमेन्टलाई पनि योजनामा राखिएको गुरुङले यसअघि आर्थिक अभियानलाई बताएका थिए । कम्पनीले यसअघि जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३१८ कोठाको पाँचतारे होटेल, ३० सर्भिस अपार्टमेन्ट, चारओटा सम्मेलनस्थल, एउटा सपिङ आर्केड र एउटा मनोरञ्जन क्षेत्र पनि विकास गरिनेछ । सबै संरचना निर्माणमा ८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको गुरुङको भनाइ थियो ।
अन्नपूर्ण स्क्वायर प्रालिले होटेलको व्यवस्थापन तथा सञ्चालनका लागि भारतको अन्तरराष्ट्रिय चेन होेटेल आईटीसीसँग गत असोजमा सम्झौता गरेको थियो । आईटीसीले आफ्नो सम्मानित वेलकम होटेल ब्रान्डमार्फत अन्नपूर्णको सेवा सञ्चालन गर्नेछ ।
आईटीसीले आफ्नो सम्मानित वेलकम होटेल ब्रान्डमार्फत होटेलको सेवा सञ्चालनको सहकार्यले नेपालको अतिथि सत्कार क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने कम्पनीको भनाइ छ । अन्नपूर्ण होटेललाई महत्त्वपूर्ण लग्जरी गन्तव्यका रूपमा प्रस्तुत गर्ने गरी उक्त सहकार्य भएको हो ।
आईटीसीको व्यवस्थापनमा नेपालमा सञ्चालन हुने यो दोस्रो होटेल हुनेछ । हाल भक्तपुरको फच्र्युन रिसोर्ट तथा वेलनेस स्पाको व्यवस्थापन पनि आईटीसी होटेल समूहले नै सञ्चालन गरिरहेको छ । होटेल व्यवस्थापनका लागि आईटीसीको उक्त ब्रान्ड भित्त्याएसँगै कम्पनीले निर्माणको काम अघि बढाएको हो ।
सन् १९६५ मा सञ्चालनमा आएको पुरानो पाँचतारे होटेल सन् २०२० मा देखिएको कोरोना महामारीपछि बन्द भएको थियो । कोरोनाले मुलुकको पर्यटन तथा होटेल क्षेत्रमा प्रभाव पर्न थालेपछि सेवा बन्द भएपश्चात् होटेलका साविकका लगानीकर्ताले लगानी साझेदार भित्त्याउन पहल शुरू गरेका थिए । त्यसपछि होटेल पुनर्निर्माणकै उद्देश्यले अन्नपूर्ण स्क्वायर नामक कम्पनी स्थापना गरिएको थियो । अन्नपूर्ण स्क्वायरमा सबैभन्दा बढी शेयर भाटभटेनी समूहको छ । बाँकी शेयर लिटिल एन्जल्स समूह र डेल अन्नपूर्ण प्रालिको छ ।
उक्त होटेलको रेटिङ सन् २०२२ जनवरीमा रेटिङ कम्पनी इक्रा नेपालले गरेको थियो । त्यसअनुसार सन् २०२० मा अन्नपूर्णको सञ्चालन आम्दानी ५१ करोड ९९ लाख रुपैयाँमा झरेको थियो । त्यसअघि सन् २०१९ मा अन्नपूर्णको सञ्चालन आम्दानी ९३ करोड ५५ लाख रुपैयाँ थियो ।