काठमाडौं । नेपाल स्टक एक्सचेन्स लिमिटेड (नेप्से)मा सूचीकृत होटेल तथा पर्यटन समूहअन्तर्गतका पाँचतारे स्तरका होटेलमध्ये दुईओटाले मात्रै नाफा बढाएका छन् ।
गत आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल (हायात होटेल), ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटेल) र सिटी होटेल (हायात प्लेस) मध्ये सोल्टी र तारागाउँले अघिल्लो आवको तुलनामा नाफा बढाएका हुन् ।
गत आव ओरियन्टलको नाफा घटेको छ भने सिटी होटेल भने घाटामै भए पनि त्यसको आकार घटाएको छ । सोल्टी होटेलले सबैभन्दा धेरै नाफा आर्जन गरेको देखिएको छ । सोल्टी होटेलले गत आव २०८०/८१ मा ६० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसको अघिल्लो आव २०७९/८० मा उक्त होटेलले ५५ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । खुद नाफा करलगायत सबै दायित्व घटाएर तय गरिन्छ ।
गत आवमा सोल्टीले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । त्यसको अघिल्लो आवमा कम्पनीको यस्तो कुल आम्दानी २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ थियो । गत आव २०८०/८१ मा तारागाउँले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आव यस होटेलको खुद मुनाफा ४० करोड ४३ लाख रुपैयाँ थियो ।
तारागाउँले गत आव सञ्चालन र अन्य गरेर कुल १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसको अघिल्लो आव तारागाउँको कुल आम्दानी १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ थियो । अर्काे पाँचतारे ओरियन्टल होटल्सले गत आव १२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसको अघिल्लो आवमा उक्त होटेलको नाफा १६ करोड ९ लाख रुपैयाँ थियो ।
दुई आवको नाफा तुलना गर्दा गत आवमा कम्पनीले गरेको नाफा अघिल्लो वर्षको तुलनामा कम हो । गत आवमा २३ दशमलव ९९ प्रतिशतले नाफा घट्नुमा विवाह, व्रतबन्ध जस्ता लगनको साइत थोरै भई बैंकेटको विक्रीमा उल्लेखनीय ह्रास आउनु र कर्मचारी तथा अन्य खर्च वृद्धिलाई कम्पनीले कारण मानेको छ । कम्पनीले वित्तीय विवरणमा लेखेको छ, ‘नयाँनयाँ होटेल खुल्ने क्रम, पुराना होटेलहरू पनि नयाँ होटेलसँग प्रतिस्पर्धा गर्न हालको संरचनालाई रिनोभेशन गर्दै जाँदा नाफामा वृद्धि नभएको हो ।’
धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत होटेल तथा पर्यटन समूहको सिटी होटेल (हायात प्लेस) ले भने गत दुवै आवमा घाटा बेहोरेको छ । आव २०७९/८० मा २७ करोड २२ लाख रुपैयाँ घाटा बेहोरेको यो होटेलको घाटा आव २०८०/८१ मा २० करोड ४७ लाख रुपैयाँ छ ।
गत आव अघिल्लो वर्षको तुलनामा सञ्चालन आम्दानी बढाएकाले घाटामा कमी आएको हो । वित्तीय विवरणअनुसार सिटीको सञ्चालन आम्दानी अघिल्लो आव ४७ करोड ३१ लाख रहेकोमा गत वर्ष ५० करोड ४२ लाख रुपैयाँ पुगेको छ । बाढीपहिरोको समाचारका कारण ग्राहक आगमन घट्नु, सरकारले विलासिता कर लगाउँदा ग्राहकको लागत बढ्नु र नेपालमा धेरै ब्रान्डेड होटेल खुल्नुलाई सिटीले चुनौतीका रूपमा उल्लेख गरेको छ ।