काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटेल बाराही काठमाडौं’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।
टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि उक्त होटेललाई ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रूपमा उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
होटेलका महाप्रबन्धक रोशन सापकोटाका अनुसार टफ्ट टाइगरले 'इको फुटप्रिन्ट' रेटिङमा चार ओटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटेलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुर"प नै भएको उल्लेख गरेको छ ।
होटेलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैं चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताए ।
टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिम लगायतमा होटेलले गरेको गतिविधिलाई आधार मानेको थियो ।
साथै दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटेलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरूको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो ।
त्यसैगरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटेलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय शीप र खानाको प्रवर्द्धन र स्थानीय उत्पादनको खपत होटेलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरिएको थियो ।
साथै चौथो मापदण्डमा सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटेलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवर्द्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।
मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरूको सहजता र होटेलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
कम्पनीले होटेलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराएको छ । होटेलले स्थानीय संस्कृति प्रवर्द्धन, शीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रवर्द्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाएको थियो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्यांकनमा समावेश गरिएको थियो ।
होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौंले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै नेपाल सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताए ।
नेपाल ट्राभल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटेल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यसप्रकारको अभ्यास सामान्य जीवनयापनमा समेत लागू गर्न सबैजना सचेत हुनुपर्नेमा जोड दिइन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले होटेलहरूले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटेलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने बताए । वातावरण संरक्षणमा चासो राख्ने पर्यटकमा होटेलप्रतिको विश्वस्नीयता बढेको उल्लेख गर्दै उनले होटेल धेरैभन्दा धेरै पर्यटकको रोजाइमा पर्नेमा विश्वास व्यक्त गरे ।
बाराही हस्पिटालिटीअन्तर्गत रहेको होटेल बाराही काठमाडौं २०२३ जुलाइबाट सञ्चालनमा आएको हो । सातौं तलामा अल डे डाइनिङ रहेको होटेलको नवौं तलामा इन्फिनिटी लाउन्ज छ ।
भुइँ तलामा इली कफी आउटलेट सञ्चालनमा आएको छ । ब्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सञ्चालनको तयारी भइरहेको छ । होटेलमा स्पा र फिटनेस सेन्टर निमाणाधीन छ । सातौं तलामा नारायणहिटी दरबार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटेलको आकर्षण हो ।
बाराही काठमाडौं होटेलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटेलका रूपमा दक्षिण एशियामा सर्वोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ । साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी (अतिउत्तम वर्गीकरण) प्राप्त गरेको छ ।
बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा ‘होटेल बाराही पोखरा’, ‘साराङकोट माउन्टेन लज’, ‘आवास पोखरा’ तथा चितवनमा ‘बाराही जंगल लज’ र काठमाडौंमा ‘बाराही काठमाडौं’ सञ्चालनमा छन् ।
चितवनको बाराही जंगल लज यसअघि नै 'इको सर्टिफाइड' भइसकेको र अन्य होटेल पनि यसका लागि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।