एकीकृत व्यापार रणनीति (एनटीआईएस) २०१० ले प्राथमिकीकरण गरेका हरेक वस्तुको निर्यात १ अर्ब रुपैयाँ पुर्याइने भएको छ । यस्ता वस्तुको निर्यात वार्षिक १ अर्ब रुपैयाँबराबर पुर्याउन वाणिज्य तथा आपूर्ति मन्त्रालयले विस्तृत कार्ययोजना तयार पार्न लागेको हो । निर्यात व्यापारलाई न्यूनतम वार्षिक रू १ खर्ब पुर्याउने तयारीअनुरूप पहिचान गरेका वस्तुको निर्यातका लागि कार्ययोजना तयार गरी लागू गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले बतायो ।
एनटीआईएसले अदुवा, पश्मिना, मह, दाल, चिया, चाउचाउ, हातेकागज, चाँदीका गहना, फलाम र स्टील, ऊनजन्य, अलैंची, उत्पादन तथा औषधिजन्य उत्पादनलाई प्राथमिकताको सूचीमा राखेको छ । रणनीतिको नयाँ सूचीमा तयारी पोशाक र गलैंचाजस्ता निर्यातयोग्य वस्तुलाई समेत समेट्ने पहल भएको छ । गतवर्ष निर्यातयोग्य वस्तुबाट सबैभन्दा बढी ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको गलैंचा तथा तयारी पोशाकजस्ता वस्तुलाई रणनीतिको सूचीमा राख्न ढिला भइसकेको नेपाल गलैंचा निकासीकर्ता संघका कार्यकारी सल्लाहकार सुरेन्द्र ढकाल बताउँछन् । सरकारले ३ वर्षपछि एनटीआईएस कार्यक्रमको समीक्षा गर्न लागिरहेको छ । निजीक्षेत्रले चालू आर्थिक वर्षमा निर्यात व्यापार १ खर्ब रुपैयाँ पुर्याउन आग्रह गरेसँगै सरकारी निकायले प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
वर्ष ८, अंक १४७, बुधवार, २ फागुन, २०६९