काठमाडौं । नेपालका हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी)बीच बुधवार काठमाडौं हस्तकला प्रवर्द्धनसम्बन्धी समझदारी भएको छ ।
समझदारी पत्रमा हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका छन् ।
समझदारीबाट नेपाली हस्तकलालाई विश्वव्यापी ब्राण्डको रूपमा विकास गर्न कूटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ ।
त्यसैगरी नेपाली हस्तकलाको प्रवद्र्धन, कलाकार कालिगढहरूको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारी बनाइने विषयमा पनि दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।
हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम् प्रतिफल प्राप्त हुनु पर्ने कुरामा दुवै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझदारी पत्रमा उल्लेख छ । त्यसैगरी हस्तकला क्षेत्रमा शीप र प्रविधिको पुस्तान्तरणका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ ।
उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा महासंघका पदाधिकारी र महानिर्देशक लगायतका कर्मचारीको पनि सहभागिता थियो ।
नेपाली हस्तकला क्षेत्रमा हाल प्रत्यक्ष र परोक्ष गरि ११ लाख व्यक्ति संलग्न छन् । हाल ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरू पहिचान गरिएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हस्तकला क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करीब ४४ अर्ब रुपैयाँ बराबरको योगदान गरेको छ । नेपालबाट विश्वका ६० देशमा २२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला सामग्री निर्यात हुने गरेको छ ।